डालास । आयोजक अमेरिकाले आइसिसी ट्वान्टी-२० विश्वकपमा विजयी सुरुआत गरेको छ ।
डालासस्थित ग्रान्ड प्रेरी क्रिकेट मैदानमा आइतबार सम्पन्न उद्घाटन खेलमा अमेरिकाले क्यानाडाविरुद्ध सात विकेटको जित निकाल्यो ।
क्यानाडाले प्रस्तुत गरेको १९५ रनको लक्ष्य अमेरिकाले १७.४ ओभरमा तीन विकेट गुमाउँदै पूरा गर्यो ।
अमेरिकाका लागि आरोन जोन्सले ४० बलमा १० छक्का र चार चौकाको मद्दतले अविजित ९४ रनको योगदान गरे । यसैगरी एन्ड्रिस गौसले ४६ बलमा सात चौका र तीन छक्काको मद्दतले ६५ र कप्तान मोनान्क पटेलले १६ रन बनाए ।
तेस्रो विकेटका लागि ओरोन र एन्ड्रिसले १३१ रनको साझेदारी गरे । क्यानाडाका लागि सलिम सना, डिलोन हेलिगर र निखिल दत्तले समान एक विकेट लिए ।
त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको क्यानाडाले निर्धारित २० ओभरमा पाँच विकेट गुमाउँदै १९४ रनको योगफल तयार पारेको थियो ।
क्यानाडाका लागि नवनीत धलिवालले ४४ बलमा ६ चौका र तीन छक्काको मद्दतले सर्वाधिक ६१ रनको योगदान गरे। यसैगरी निकोलस किर्टनले ३१ बलमा तीन चौका र दुई छक्काको मद्दतले ५१, श्रेयस मोभाले ३२, आरोन जोनसनले २३, दिलप्रित बाज्वाले ११ रन बनाए ।
चौथो विकेटका लागि नवनीत र निकोलसले ६२ रनको साझेदारी गरे । अमेरिकाका लागि अली खान, हर्मित सिंह र कोरी एन्डरसनले समान एक विकेट लिए ।