काठमाडौं । आयोजक न्युटन हाइ स्कुलको तीन टोली प्रथम न्युटन एसइइ कप ‘थ्री एक्स थ्री’ बास्केटबल प्रतियोगितामा शनिबार क्वार्टरफाइनल प्रवेश गरेका छन् ।
न्युटनको ब्वाइजमा दुई तथा गर्ल्समा एक टोली क्वार्टरफाइनल पुगे।
बालुवाटारस्थित घरेलु कोर्टमा भइरहेको प्रतियोगिताको ब्वाइजमा न्युटन ‘ए’ ले ऋत एकेडेमी ‘ए’ लाई १८-१५ तथा न्युटन ‘सी’ ले क्यान्भासलाई १६-१० ले पराजित गरे ।
सोही स्पर्धामा एचएचसिए ‘ए’ ले एन्जल्स हार्टलाई १८-१५, हुपर्सले न्युटन ‘बी’ लाई १७-१६, दि लियोसले फेरिल्यान्डलाई १४-१०, भ्याली पब्लिकले ब्रुक्सलाई १५-१०, सरकारले एचएचसिए ‘बी’ लाई १३-१० र ग्रिनल्यान्ड ‘ए’ ले गोल्डेनपिकलाई १९-१८ ले हराउदै क्वार्टरफाइनलमा स्थान पक्का गरे ।
यसैगरी गर्ल्समा न्युटन ‘बी’ ले टिम सोनिसलाई १३-११ ले पराजित गर्यो ।
गर्ल्समै पृथ्वीले एन्जल्स हार्टलाई १४-१३, बसुन्धरा नेसनल एकेडेमी (बिएनए) ले न्युटन ‘ए’ लाई १५-१०, ग्रिनल्यान्डले न्यु एरालाई १८-१२, क्यान्भासले मानसिंहलाई १२-१०, भ्याली पब्लिकले लालीगुराँस नेसनल एकेडेमी (एलएनए) लाई १६-१४, फेरिल्यान्डले ग्याबालाई १५-१३ र के सुपरभिजनले एचएचसीएलाई १४-१० ले हराउँदै क्वाटरफाइनल यात्रा तय गरे ।
प्रतियोगिताको प्याब्सनका केन्द्रीय उपाध्यक्ष थकिनकुमार गुरुङ, न्युटनका प्रिन्सिपल रामबहादुर केसी र न्युटनका कार्यकारी निर्देशक रमेश पन्थीले निर्णायकलाई बल हस्तान्तरण गरी उद्घाटन गरे ।
प्रतियोगितामा दुवैतर्फका विजेताले १० हजार र उपविजेताले ५ हजार रुपैयाँ प्राप्त गर्ने छन् । उपाधि विजेता, उपविजेता, नकआउट चरणमा पुग्ने टोली र सहभागी टोलीको प्रत्येक खेलाडीलाई छात्रवृत्तिको पनि व्यवस्था गरिएको छ ।
प्रतियोगिता आइतबार सम्पन्न हुनेछ ।