पोखरा । त्रिभुवन आर्मी क्लबका संजय श्रेष्ठ दोस्रो संस्करणको लेखनाथ हाफ म्याराथनको च्याम्पियन बनेका छन् ।
पोखरा महानगरपालिका खेलकुद विकास समितिको आयोजनामा शनिबार सम्पन्न प्रतियोगितामा निर्धारित २१ किलोमिटर दूरी पार गर्न सञ्जयले १ घण्टा ४ मिनेट ४७ सेकेन्ड लगाए ।
विजेता सञ्जयले ६० हजार रुपैयाँसहित मेडल र प्रमाणपत्र पाए ।
१ घण्टा ६ मिनेट ३३ सेकेन्डका साथ आर्मीका किरण बोगटी दोस्रो र १ घण्टा ९ मिनेट २९ सकेन्डको समय निकाल्दै आर्मीका रामाजी बस्नेत तेस्रो भए ।
किरणले ३० हजार तथा रामाजीले २० हजार रुपैयाँका साथै मेडल र प्रमाण पत्र प्राप्त गरे ।
एपिएफका खिमबहादुर खत्री १ घण्टा ९ मिनेट ४९ सेकेन्डको समय निकाल्दै चौँथो र आर्मीका प्रताप खड्का १ घण्टा १० मिनेट ४१ सेकेन्डका साथ पाँचौं भए ।
चौँथो र पाँचौंले क्रमशः १० हजार र ५ हजार रुपैयाँको साथमा मेडल र प्रमाणपत्र पुरस्कार पाएको खेलकुद विकास समितिका सदस्य सचिव सुवास खड्काले जानकारी दिए ।
१० किलोमिटर खुला पुरूष दौडमा आर्मीका श्रीकश राई विजेता, सुवास कार्की उपविजेता बने । गण्डकी मेडिकल कलेजका अजित कुमार यादव तेस्रो, सोही कलेजका दिनेश बोगटी चौँथो र एपिएफका राजेन्द्र तामाङ पाँचौं स्थानमा रहे ।
१० किलोमिटर महिला दौडमा आर्मीकी पूर्णलक्ष्मी न्यौपाने नेपाल पुलिसकी राममाया बुढा र आर्मीकी र्सिजना पाण्डे शीर्ष तीनमा रहे । एपिएफकी पुष्पा भण्डारी चौँथो र एपिएफकै आशा राउत पाँचौं भए ।
दुवैतर्फको शीर्ष पाँचमा रहनेले क्रमाशः ३० हजार, २० हजार, १० हजार, ५ हजार र २ हजार ५०० रुपैयाँको साथमा मेडल र प्रमाणपत्र पाए ।
भेट्रान्स ५ किलोमिटरमा काठमाडौँका धर्म महर्जन प्रथम, धादिङका रैवतबहादुर दाहाल द्वितीय र पोखराका विश्वलाल श्रेष्ठ तृतीय भए । भेट्रान्सतर्फको विजेताले १० हजार, उपविजेताले ७ हजार, तृतीयले ५ हजार रुपैयाँ, मेडल र प्रमाणपत्र प्राप्त गरे ।
विद्यालय छात्रतर्फ ५ किलोमिटर कास्की मोडनाइज्ड एकेडेमीका बादल कार्की, कुमुदिनी होम्सका कृष्ण परियार, भद्रकाली माविका गंगा गुरुङ, सोही विद्यालयका इमबहादुर गुरुङ र छोरेपाटन माविका तेञ्जोन रोका शीर्ष पाँचमा रहे ।
छात्रातर्फ रेन्बो एकेडेमीकी सर्मिला विक, कालिका माविकी स्वीकृति कार्की, छोरेपाटन माविकी नारायणी भण्डारी, छोरेपाटनकै विष्णु थापा चौँथो र गौरीशंकर माविकी कविता मगर पहिलो देखि पाँचौं स्थानमा रहे ।
५ किलोमिटर विद्यालय छात्रछात्रा दौडको विजेतालेशीर्ष पाँचमा रहनेले क्रमशः१५ हजार, १० हजार, ५ हजार, ३ हजार र २ हजार रुपैयाँका साथै मेडल र प्रमाणपत्र प्राप्त गरे ।
म्याराथनमा सहभागी पोखराका खेलाडीमध्ये सबैभन्दा पहिला निर्धारित दुरी पूरा गरेका चेतनाथ चालिसेले पोखरा च्याम्पियन बने । चालिसेले २१ किलोमिटर दौड १ घण्टा ३४ मिनेटमा पूरा गरेका थिए । चालिसे पोखरा–१७ बिरौटा निवासी हुन् । उनले १० हजार रुपैयाँसहित मेडल र प्रमाणपत्र पुरस्कार पाए । प्रथम संस्करणमा पनि उनी नै पोखरा च्याम्पियन बनेका थिए ।
विजेतालाई पोखरा महानगरपालिकाका मेयर धनराज आचार्य, पोखरा-१७ का वडाध्यक्ष राधिका शाही योगी, पोखरा-२९ का वडाध्यक्ष श्रीप्रसाद गुरूङ, खेलकुद विकास समिति अध्यक्ष दीपकबहादुर गोदारलगायतले पुरस्कार वितरण गरे ।
प्रतियोगिताका ६ वटा विधामा गरेर ४००भन्दा बढी खेलाडी सहभागी भएको अध्यक्ष गोदारले जानकारी दिए । प्रतियोगितामा कास्की जिल्ला एथ्लेटिक्स संघले प्राविधिक सहयोग गरेको थियो ।