पोखरा। विभागीय टोली नेपाल पुलिस क्लबले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्लब महिला/पुरुष भलिबल प्रतियोगिताको पुरुषतर्फ भारतको सुनिल भलिबल क्लबमाथि ३-१ सेटको जित दर्ता गरेको छ।
पोखरा रंगशालास्थित भलिबल कोर्टमा साेमबार पुलिसले सुरुआती दुई सेट २५-१०, २५-१४ ले आफ्नो पक्षमा पारेको थियो । तेस्रो सेट भने पुलिसले २२-२५ ले गुमायो ।
चौथो सेटमा २५-२२ ले विजयी हुँदै पुलिसले दोस्रो जित दर्ता गर्यो। सुनिल क्लबले भने पहिलो हार बेहोरेको छ ।
पहिलो खेलमा पुलिसले गण्डकी प्रदेश भलिबल संघ तथा सुनिल क्लबले साबिक विजेता हेल्प नेपाल स्पोर्टस क्लबलाई पराजित गरेका थिए ।
पुरुषतर्फकै खेलमा गण्डकी प्रदेश र एपिएफबिच प्रतिस्पर्धा हुनेछ।
यस्तै सोमबारै सम्पन्न महिलातर्फको खेलमा नेपाल पुलिस क्लबले युनाइटेड प्यासन भलिबल क्लब थाइल्यान्डलाई ३-१ तथा एपिएफले न्यु डायमन्ड स्पोर्टस क्लबलाई ३-० को सेटमा पराजित गरेका थिए ।