काठमाडौं । विभागीय टोली नेपाल एपिएफ क्लबले प्रधानमन्त्री कप राष्ट्रिय पुरुष एकदिवसीय क्रिकेट प्रतियोगितामा लगातार दोस्रो जित दर्ता गरेको छ ।
बिहीबार दाङको देउखुरी क्रिकेट मैदानमा एपिएफले मधेश प्रदेशविरुद्ध दुई विकेटको जित निकाल्यो ।
जितसँगै एपिएफले दुई खेलमा चार अंक जोडेको छ । पहिलो पराजय बेहोरेको मधेशको समान खेलबाट दुई अंक छ ।
मधेशले प्रस्तुत गरेको १६९ रनको लक्ष्य एपिएफले ३६.५ ओभरमा आठ विकेट गुमाउँदै पूरा गर्यो । एपिएफका लागि सुमित महर्जनले ३५, आसिफ शेखले ३४, कमलसिंह ऐरीले अविजित २८, लोकश बमले १८, अमरसिंह रौटेलाले १६ र कप्तान रोहितकुमार पौडेलले ११ रन बनाए ।
मधेशका लागि कमल गुप्ताले चार, पवन पासवानले दुई तथा रुपेश सिंह र हरिशंकर शाहले समान एक विकेट लिए ।
त्यसअघि टस जितेर ब्याटिङ रोजेको मधेशले ४०.४ ओभरमा सबै विकेट गुमाउँदै १६८ रनको योगफल तयार पारेको थियो ।
मधेशका लागि पवन सराफले ७७ बलमा आछ चौका र पाँच छक्काको मद्दतले सर्वाधिक ७७ रनको योगदान गरे । यसैगरी कप्तान अनिलकुमार साहले १७ र मायन यादवले ११ तथा रुपेश सिंह र प्रदीप पासवानले समान १० रन बनाए ।
एपिएफका लागि कमलसिंह ऐरीले चार, भुवन कार्की र रोहितकुमार पौडेलले समान दुई र अभिषेक गौतमले एक विकेट लिए ।