काठमाडौं । नेपालको पहिलो पुरुष फ्रेन्चाइज भलिबल प्रतियोगिता नेपाल भलिबल लिगमा ६ टोलीको सहभागिता रहने भएको छ ।
आयोजक केडिया ग्रुपले मंगलबार लागो सार्वजनिक गर्दै प्रतियोगितामा ६ टोलीले प्रतिस्पर्धा गर्ने जानकारी दियो ।
९ दिन हुने प्रतियोगितामा कूल १६ खेल हुनेछन् । लिग चरणमा एक अर्कासँग प्रतिस्पर्धा गरेपछि शीर्ष दुई टोली फाइनल प्रवेश गर्नेछन् ।
प्रतियोगिताको मिति र टोली भने चाँडै सार्वजनिक गरिने आयोजकले जानकारी दियो ।
प्रतियोगिता आयोजनाका लागि गत असारमा नेपाल भलिबल संघ र केडिया ग्रुपबीच सात वर्षका सम्झौता भएको थियो ।
लोगो सार्वजनिक कार्यक्रममा युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरी, राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्यसचिव टंकलाल घिसिङ, नेपाल भलिबल संघका अध्यक्ष जितेन्द्रबहादुर चन्द, केडिया ग्रुपका अध्यक्ष विमल केडिया, केडिया तथा लिगका कार्यकारी निर्देशक आश्विन केडियालगायतको उपस्थिति थियो ।
सोही अवसरमा सेन्ट्रल एसियन भलिबल एसोसिएसन (काभा) पुरुष यु-२० च्याम्पियनसिपको रजत विजेता नेपाली टोलीलाई सम्मान गरिएको थियो ।