काडमाडौं । राष्ट्रिय स्तरका खेलाडीलाई ट्यालेन्ट हन्टमा समावेश गराएको भन्दै एभरेस्ट महिला भलिबल लिग (इडब्ल्युभिएल) को फ्रेन्चाइज टोली चितवन शक्तिले गण्डकी थण्डर्स, काठमाडौं स्पाइकर्स र कर्णाली यश्विजविविरुद्ध उजुरी दर्ता गरेको छ ।
‘प्रतियोगिताको नियमअनुसार ट्यालेन्ट हन्टबाट छानिने खेलाडीले कुनै पनि राष्ट्रियस्तरको खेल नखेलेको हुनुपर्नेछ । तर, कर्णाली, काठमाडौं र गण्डकीले राष्ट्रियस्तरको खेलाडी समावेश गराएको पाइयो,’ चितवनले आयोजकलाई लेखेको पत्रमा भनिएको छ, ‘उनीहरूलाई किन कोर्टमा उतार्ने अनुमती दिइयो यसको कारण खुलाउन अनुरोध गर्दछौं । साथै यो नियम विपरित भएकाले तीनै टोलीलाई कारबाहीको माग गर्दछौं ।’
गण्डकीले सोइङ थापा, काठमाडौंले रितिका भट्ट र कर्णालीले सीता सेन ठकुरीलाई ‘ट्यालेन्ट हन्ट’ बाट छनोट गरेको थियो । तीनै खेलाडीले यसअघि नै राष्ट्रियस्तरको प्रतियोगितामा सहभागिता जनाइसकेका छन् ।
आयोजक इन्फिनिटी ड्रिम्स प्रालिले भने यस्तो केही नभएको र खेल सञ्चालनमा कुनै बाधा नपुग्ने प्रतिक्रिया दियो ।
‘हामीलाई अहिलेसम्म त्यस्तो जानकारी आएको छैन । यदी आएको खण्डमा यसलाई लिग व्यवस्थापनले नै सम्हाल्ने छ । यसले खेलमा कुनै असर गर्ने छैन,’ लिगकी सिइओ स्नेभी चापागाईँले खेलाडी डटकमलाई भनिन् ।