काठमाडौं । हेल्प नेपाल स्पोर्टस क्लबले यसै महिना हुने सेन्ट्रल एसियन भलिबल एसोसिएसन (काभा) पुरुष भलिबल क्लब च्याम्पियनसिपका लागि कप्तानमा दीपक थापालाई निरन्तरता दिएको छ ।
क्लबले सामाजिक सञ्जालमार्फत दीपककै कप्तानीमा टोलीले प्रतियोगिता खेल्ने जानकारी दियो ।
दीपककै कप्तानीमा हेल्प नेपाल आठौं प्रधानमन्त्री कप एनभिए लिग च्याम्पियन बनेको थियो। उक्त प्रतियोगिताको विजेता हेल्प नेपाल र उपविजेता गण्डकी प्रदेशले काभा क्लब च्याम्पियनसिपमा नेपालको प्रतिनिधित्व गर्नेछन् ।
यसैगरी टोलीले प्रशिक्षकमा उत्सव खड्कालाई निरन्तरता दिएको छ ।
प्रतियोगिता मंसिर २२ देखि २९ गतेसम्म नेपालमै हुँदैछ । प्रतियोगितामा सेन्ट्रल एसियाका विभिन्न राष्ट्रका लिग च्याम्पियनले प्रतिस्पर्धा गर्नेछन् । आयोजक भएकाले नेपालबाट भने दुई क्लबले सहभागिता जनाउने पाएका हुन् ।
हेल्प नेपालले प्रतियोगिताका लागि विदेशीका साथै विभागीय टोलीबाट पनि खेलाडी ल्याएर टिम तयार पारिने जानकारी दियो ।