काठमाडौं । एभरेस्ट महिला भलिबल लिग (इडब्ल्युभिएल) को फ्रेन्चाइज काठमाडौं स्पाइकर्सले दोस्रो विदेशी खेलाडीका रूपमा टर्कीकी पेलिन एरोक्टेलाई अनुबन्ध गरेको छ ।
काठमाडौंले यसअघि बुल्गेरियन सेटर एन्ड्रिया स्भेतानोभालाई भित्र्याएको थियो ।
अपोजिट हिटर एरोक्टेसँग विभिन्न उमेर समूहबाट टर्कीको प्रतिनिधित्व गरेको अनुभव छ । उनले यु-१६ देखि २१ बाट टर्कीका लागि युरोपियन च्याम्पियनसिप खेलेकी छन् । यसैगरी एरोक्टेले टर्कीको यु-१९ टोलीबाट विश्व च्याम्पियनसिपको अनुभव पनि लिइसकेी छन् ।
२० वर्षीय एरोक्टे टर्किस लिगको चर्चित अनुहार हुन् । उनले सिग्रोटा सोप, बेसिक्टास आयोस जस्ता क्लबबाट लिग खेलेकी छन् ।
नेपाली राष्ट्रिय भलिबल टोलीकी प्रमुख खेलाडी उषा भण्डारी मार्की प्लेयर रहेको काठमाडौंले जगदिश भट्टलाई प्रशिक्षणको जिम्मेवारी सुम्पिएको छ ।
प्रतियोगिता असोज १४ देखि १९ सम्म त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा हुनेछ ।
इन्फिनिटी ड्रिम्स प्रालिको आयोजनामा नेपाली भलिबल इतिहामै पहिलो पटक हुन लागेको प्रतियोगितामा ६ फ्रेन्चाइज टोलीले सहभागिता जनाउने छन् ।
प्रतियोगितामा मधेश युनाइटेड, काठमाडौं स्पाइकर्स, चितवन शक्ति, ललितपुर क्विन्स, गण्डकी थन्डर्स र कर्णाली यसभिसले सहभागिता जनाउने छन् ।
काठमाडौंले उद्घाटन खेलमा ललितपुर क्विन्सको सामना गर्नेछ ।
काठमाडौंको टोली
उषा भण्डारी (मार्की), आरती सुवेदी, कोपिला राना, कमला पुन, उषा विष्ट, निशा महर वसन्ती साउद, रश्मिता दुरा, रितिका भट्ट (ट्यालेन्ट हन्ट), एन्ड्रिया स्भेतानोभा (बुल्गेरिया), पेलिन एरोक्ट( टर्की)