काठमाडौं । विभागीय टोली नेपाल पुलिस क्लब एक खेल अगावै सेन्ट्रल एसियन भलिबल एसोसिएसन (काभा) महिला क्लब च्याम्पियसिपको फाइनल प्रवेश गरेको छ ।
बिहीबार माल्दिभ्सको क्लब वाम्कोविरुद्ध ३-२ सेटको रोमाञ्चक निकाल्यो ।
पहिलो सेट २१-२५ ले गुमाएको पुलिसले दोस्रो सेट २५-२० ले आफ्नो पक्षमा पर्यो ।
तेस्रो सेटमा २१-२५ ले पछि परेको पुलिसले चौथो सेटमा २५-१८ को जित निकाल्दै खेललाई पाँचौं सेटसम्म लम्बायो ।
पाँचौं तथा निर्णायक सेट १५-१३ ले पक्षमा पार्दै पुलिसले आफ्नो विजयी यात्रा लगातार चौथो खेलसम्म पनि कायम राख्यो ।
माल्दिभ्सको मालेमा जारी प्रतियोगितामा चौथो जितसँगै ११ अंक जोडेको पुलिस शीर्ष स्थानमा छ ।
यसअघि पुलिसले उज्वेकिस्तानको हुमो भलिबल क्लब, श्रीलंकाको श्रीलंका एयर फोर्स र ताजकिस्तानको डाइमेड भलिबल क्लबलाई समान ३-० को सेटमा पराजित गरेको थियो ।
लिग चरणको अन्तिम खेलमा पुलिसले शुक्रबार माल्दिभ्स पुलिस क्लबको सामना गर्नेछ ।