काठमाडौं । एभरेस्ट महिला भलिबल लिग (इडब्ल्युभिएल) को फ्रेन्चाइज टोली चितवन शक्तिले खेलाडी छनोटका लागि ‘ट्यालेन्ट हन्ट’ गर्ने भएको छ ।
कार्यकक्रम भरतपुर महानगरपालिका-२२ पटहिनी कर्भड हलमा असोज ७ बिहान १० देखि साँझ ५ बजेसम्म हुनेछ ।
छनोटका लागि चितवनका मुख्य प्रशिक्षक अर्जुन घिमिरे र मार्की प्लेयर तथा राष्ट्रिय महिला भलिबल टिमकी कप्तान अरुणा शाहीले निर्णायकको भूमिका निर्वाह गर्नेछन् ।
‘ट्यालेन्ट हन्ट’ मा सहभागिता जनाउनका लागि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा नखेलेको चितवनको स्थानीय खेलाडी हुनुपर्नेछ ।
ट्यालेन्ट हन्टबाट खेलाडी छनोट गरेपछि चितवनको पूर्ण टिम तयार हुनेछ । टोलीले विदेशकी कोटामा तीन खेलाडी अनुबन्ध गरिसकेको छ ।
आयोजक इन्फिनिटी ड्रिम्स प्रालिले नेपाली भलिबल इतिहामै पहिलो पटक हुन लागेको प्रतियोगिताका फ्रेन्चाइजले एक खेलाडी ‘ट्यालेन्ट हन्ट’ बाट छनोट गर्नुपर्ने नियम बनाएको छ ।
प्रतियोगिता असोज १४ देखि १९ सम्म त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा हुनेछ ।
प्रतियोगितामा मधेश युनाइटेड, काठमाडौं स्पाइकर्स, चितवन शक्ति, ललितपुर क्विन्स, गण्डकी थन्डर्स र टिम कर्णाली यसभिसले सहभागिता जनाउने छन् ।
चितवनको टिमः
अरुणा शाही (मार्की), सलिना बुढामगर, जेनिशा विश्वकर्मा, एन्जिला प्रधान, सुनिता खड्का, भावना डांगी, वाल्मिका आचार्य, सरस्वती कट्टेल, केसेनिया पाभलेन्को (अजरबैजान) केपी अनुश्री (भारत), सूर्या (भारत)