काठमाडौं । आठ स्वर्ण, तीन रजत र चार कांस्य पदकका साथ कोटेश्वर तेक्वान्दो डोजाङ छैटौं नेकोस राष्ट्रिय खुला तेक्वान्दो प्रतियोगितामा शनिबार च्याम्पियन बनेको छ ।
नेपाल खेलकुद महासंघ (नेकोस) अन्तर्गतको राष्ट्रिय तेक्वान्दो संघले आयोजना गरेको प्रतियोगितामा सुन्दरीमाइ तेक्वान्दो डोजाङ दुई स्वर्ण, दुई रजत र पाँच कांस्य पदकका साथ दोश्रो भयो ।
पेप्सीकोलास्थित कोटेश्वर तेक्वान्दो डोजाङमा भएको प्रतियोगितमा ओम माने तेक्वान्दो डोजाङले एक स्वर्ण र चार रजत पदकका साथ तेस्रो स्थान हासिल गर्यो ।
विजेतालाई बागमती प्रदेशका पूर्व सभामुख सानुकुमार श्रेष्ठ, राष्ट्रिय खेलकुद परिषद् (राखेप) कार्यकारी समितिका सदस्य एकेन्द्र कुँवर, तेक्वान्दोका वरिष्ठ प्रशिक्षक नवीनकुमार श्रेष्ठ, आयोजक राष्ट्रिय तेक्वान्दो संघकी अध्यक्ष शारदा धिमाललगायतले पुरस्कृत गरे ।
प्रतियोगिताको उद्घाटन नेपाल खेलकुद महासंघका इन्चार्ज एवं नेकपा एमाले बागमती प्रदेश संसदीय दलका नेता जगननाथ थपलिया र नेकोसका महासचिव धर्मकुमार लामाले गरेका थिए ।
१६ स्पर्धा समावेश गरिएको प्रतियोगितामा २७५ खेलाडीले प्रतिस्पर्धा गरेको तेक्वान्दोका अन्तर्राष्ट्रिय निर्णायक अशोक खड्काले जानकारी दिए।