काठमाडौं । एन्फा राष्ट्रिय लिगमा काँक्रेबिहार क्लबले पहिलो अंक जोडेको छ ।
बुधबार सातदोबाटोस्थित एन्फा मुख्यालयमा सम्पन्न दिनको पहिलो खेलमा अन्तिम समय सम्हालिन नसक्दा चित्लाङ एफसीले काँक्रे बिहारसँग २–२ को दूर्भाग्यजनक बराबरी खेल्यो ।
भरत नगलको गोलमार्फत पहिलो हाफमा काँक्रे बिहारले सुरुआती अग्रता लिएको थियो । ७६औं मिनेटमा चेतनकुमार थारुले चित्लाङलाई खेलमा फर्काए । १० मिनेटपछि आरोन थापाको दर्शनीय फ्रिकिक गोलमा चित्लाङ तीन अंकको करिब पुग्यो । तर, ९०+(५) मिनेटमा सन्दीप देउवाले गोल गर्दै काँक्रे बिहारलाई पहिलो अंक दिलाए ।

काँक्रे बिहारले पाँचौं खेलमा आएर अंकको खाता खोलेको हो । अब लिगमा नव जनजागृति एउटै मात्र क्लब हो जो अंकविहीन छ ।
दिनको दोस्रो खेलमा फागुराम थारु चम्किँदा प्लानिङले फ्रेन्ड्स क्लबलाई २–० ले हरायो । दुबै गोल फागुरामले गरेका थिए ।
प्लानिङको यो लगातार तेस्रो जित हो । फ्रेन्ड्सको भने यो लगातार तेस्रो हार हो ।
