फ्रेन्च ओपनको सेमिफाइनलमा नाडाल र जोकोभिचको भेट निश्‍चित

पेरिस, (खेलाडी)- विश्‍व नम्बर एक खेलाडी नोभाक जोकोभिचले फ्रेन्च ओपन टेनिसको सेमिफाइनलमै २० पटकका ग्राण्ड स्लाम च्याम्पियन राफेल नाडालसँगको भेट निश्‍चित गरेका छन् । बुधबार राति भएको क्‍वार्टरफाइनलमा माटेओ बोरेटिनीलाई ३-१ सेटको नतिजामा पराजित गर्दै जाेकाेभिचले ५८औं पटक नाडालसँगको भेट पक्का गरे । 

विश्‍व नम्बर एकविरुद्ध सुरुआती दुई सेट ६-३, ६-२ ले गुमाएका बेरोटिनीले तेस्रो सेटमा ६-७ को जित निकालेका थिए । निर्णायक चौथो सेटमा जोकोभिचले ७-५ को रोमाञ्‍चक जित हासिल गरे । जितसँगै फाइनलसँगको दुरी एक कदममा घटाएका जोकोभिचले रोलान्ड गारोसका सर्वाधिक सफल खेलाडी नाडालको सामना गर्नेछन् ।

१३ पटकका च्याम्पियन नाडाल १४औं पटक सेमिफाइनलमा पुगेका हुन् । नाडालले बुधबार भएको क्‍वार्टरफाइनलमा अर्जेन्टिनी खेलाडी डिएगो स्वार्ट्जम्यानलाई पराजित गरेका थिए ।