अस्ट्रेलियन ओपन

अस्ट्रेलियन ओपन खेल्न मेलबोर्न पुगेका कोर्डालाई कोभिड संक्रमण पुष्टि

मेलबोर्न । अस्ट्रेलियन ओपन खेल्न एडेलेड पुगेका अमेरिकी टेनिस खेलाडी सेबास्टियन कोर्डालाई कोभिड १९ संक्रमण पुष्टि भएको छ । बुधबार आफूलाई कोभिड संक्रमण पुष्टि भएको बताएका कोर्डाले वार्मअप इभेन्ट एडेलेड इन्टरनेसनलबाट आफ्नो नाम फिर्ता लिइसकेका छन् ।

यद्यपि, विश्व वरियताको ४१औं स्थानका कोर्डा वर्षको पहिलो ग्रान्डस्लामको ड्रमा भने कायम छन् ।

‘केही लक्षण देखिएको छैन, पोजिटभ नतिजापछिका दुई परीक्षणमा नेगेटिभ रिपोर्ट आएको छ,’ कोठाको भित्तामा टेनिस बल प्रहार गर्दै गरेको भिडियो ट्वीट गर्दै उनले लखेका छन्, ‘सबै उपकरणका लागि टेनिस अस्ट्रेलियालाई धन्यवाद्!’

२१ वर्षीय कोर्डा पहिलो पटक अस्ट्रेलियन ओपन खेल्न लागेका हुन् । उनले २०२० को फ्रेन्च ओपनबाट ग्रान्डस्लाममा डेब्यू गरेका हुन् । गत वर्षको विम्बलडनमा चौथो चरणसम्मको यात्रा तय गर्नु कोर्डाको ग्रान्डस्लाममा उत्कृष्ट नतिजा हो ।