पाँच सेटको प्रतिस्पर्धामा जोकोभिचले मारे बाजी

पेरिस, (खेलाडी)- विश्‍व नम्बर नोभाक जोकोभिचले पाँच सेटसम्म चलेको प्रतिस्पर्धात्मक खेलमा शानदार पुनरागमन जनाउँदै फ्रेन्च ओपनको क्‍वार्टरफाइनलमा स्थान बनाएका छन् । सर्वियाका जोकोभिचले इटालीका १९ वर्षे लोरेन्जो मुसेट्टीलाई ३-२ को सेटमा हराउँदै क्‍वार्टरफाइनलमा स्थान बनाएका हुन् । 

३४ वर्षे जोकोभिच पहिलो दुई सेटमा पराजित भएका थिए । तर त्यसपछि लगातार तीन सेटमा उनले उत्कृष्‍ट प्रदर्शन गर्दै अन्तिम आठमा स्थान बनाएका हुन् । जोकोभिचले १९ वर्षे मुसेट्टीलाई ६-७(७/९), ६-७(२/७), ६-१, ६-०, ४-० ले पराजित गरेका हुन् । अन्तिम सेटमा मुसेट्टी घाइते भएपछि खेल छाडेका थिए । 

‘युवा खेलाडीले गरेको प्रदर्शन मलाई मन पर्यो । तथापी दुई सेट हारेर पनि पाँच सेटमा मैले जित्‍न सफल भए । मलाई जित्‍ने सम्भावना छ भन्‍ने लागिरहेको थियो,’ जोकोभिचले भने, ‘दुर्भाग्य उनी अन्तिम सेटमा घाइते भए ।’

जोकोभिचले अब माट्टेयो बेरेट्टीनीविरुद्ध खेल्नेछन् । रोजर फेडेररले चोटका कारण प्रतियोगिताबाट बाहिरिने निर्णय गरेपछि बेरेट्टीनीले सिधै क्‍वार्टरफाइनलमा स्थान बनाएका थिए ।