फुटबलमा रंगभेद अहिलेसम्मकै उच्च विन्दुमा : लुकाकु

पेरिस, (खेलाडी)- युरोपियन च्याम्पियनसिप (युरो २०२०) सुरु हुन केही दिन मात्र बाँकी रहँदा बेल्जियमका स्ट्राइकर रोमेलु लुकाकुले फुटबलमा रंगभेदी दुर्व्यवहार अहिलेसम्मकै उच्च विन्दुमा रहेको बताएका छन् ।

बेल्जियमले शनिबार रुससँग खेल्दै युरो २०२०को सुरुआत गर्दैैछ । लुकाकुले आफ्नो खेल जीवनमा धेरै पटक रंगभेदी दुर्व्यवहार बेहोरेका छन् । यस क्रममा सन् २०१९ मा समर्थकले उनलाई बाँदर भन्दै गिज्याएका थिए । लुकाकुले पछिल्लो समय रंगभेदी दुर्व्यवहार अझ बढेको बताएका छन् । 

‘समाजिक संजालकै कारण फुटबलमा रंगभेदी दुर्व्यवहार अहिलेसम्मकै उच्च छ,’ लुकाकुले भने, ‘म बुझ्छु, थिएरी हेनरीजस्ता फुटबलका महान खेलाडी समाजिक सञ्‍जालबाट टाढिएका छन् । किनकी समाजिक सञ्‍जालमा पटक पटक उनीमाथि दुर्व्यवहार हुँदै आएको छ ।’

आर्सनलका पूर्व स्ट्राइकर थिएरी हेनरीले यसै महिनाको सुरुआतमा सामाजिक सञ्‍जाल बन्द गरेका थिए । हेनरी सामाजिक सञ्‍जालबाट अलग भएसँगै उनीमाथि भएको दुर्व्यवहारको विरोधस्वरुप इङलिस फुटबल क्लब र विभिन्‍न फुटबल संघले तीन दिन सामाजिक सञ्‍जाल नचलाउने घोषणा गरेका थिए ।

‘इमानदारीका साथ भन्‍नु पर्दा रंगभेदी व्यवहारमा कुनै कमी आएको छैन । रंगभेदी दुर्व्यवहारको विरोधमा धेरै अभियानहरु सञ्‍चालनमा आए पनि त्यसले मूर्त रुप भने लिन सकेको छैन,’ लुकाकुले भने, ‘इटालीमा ममाथि प्रत्यक्ष रुपमा दुर्व्यवहार भयो । सिरी ‘ए’ले ममाथि भएको घटनाको छानबिन समेत गरेको थियो । हामीले इटालीमा रंगभेदी दुर्व्यवहारविरुद्ध जनचेतना बढाउने काम गरे पनि सोचेअनुरुपको नतिजा भने आउन सकेन । जब जनचेतना बढ्छ, तब मानिसको मानसिकतामा परिवर्तन आउँछ । सबै लिगले यस्तै खाले जनचेतना कार्यक्रम सञ्‍चालनमा ल्याउन पर्छ । क्लबले प्रत्यक्ष रुपमा खेलाडी यस्तो समस्यामा छन् वा छैनन् भन्‍ने बुझ्नु जरुरी छ ।’

रोमानिया र अस्ट्रियाविरुद्धको खेल अघि इङल्यान्डका खेलाडीले घुँडा टेक्दा इङलिस समर्थकले उनीहरुलाई गिज्‍याएका थिए ।

इङल्यान्डका प्रशिक्षक गारेथ साउथगेटले भने खेलाडी अझै एकतावद्ध छन् भन्‍ने सन्देश दिनकै लागि युरो २०२० भरी पनि टोलीले यही दोहोर्‍याउने बताएका थिए ।

कोभिड १९ महामारीका कारण १ वर्ष पछि धकेलिएको युरो २०२० यस पटक विभिन्‍न ११ राष्‍ट्रका ११ सहरमा सञ्‍चालन हुनेछ । प्रतियोगिता दौरान सीमित दर्शकलाई मात्र मैदान प्रवेशको अनुमती दिइने छ ।

‘जब युरोपियन सुपर लिग घोषणा भयो, समर्थकले सामाजिक सञ्‍जालमा तुरुन्तै त्यसको विरोध गरे । उनीहरु सडक प्रदर्शनमा समेत उत्रन तयार भए,’ लुकाकुले भने, ‘हो म पनि सुपर लिगको विपक्षमा थिएँ । तर रंगभेदी दुर्व्यवहारको घटनाप्रति यस्तै प्रदर्शनहरु तत्काल किन गरिदैन ?’