कीर्तिमानतिर लम्कँदै सेरेना विलियम्स

पेरिस, (खेलाडी)– कीर्तिमानी २४औं ग्राण्ड स्लाम जित्ने लक्ष्यमा रहेकी सेरेना विलियम्सले गएराति रोमानियाकी मिहेला बुजार्नेस्कुलाई २–१ को सेटमा संघर्षपूर्ण जित निकाल्दै फ्रेन्च ओपनको तेस्रो चरणमा स्थान बनाएकी छिन् ।  

सातौं वरियाताप्राप्त अमेरिकाकी  ३९ वर्षिया सेरेनाले ६–३, ५–७, ६–१ को सेटमा विजय हासिल गरेकी थिइन् । सेरेनाले अब अन्तिम १६ प्रवेशका लागि आफ्नै देशकी डेनियल कोलिन्ससँग प्रतिस्पर्धा गर्नेछिन् ।  कोलिन्सले दोस्रो चरणमा युक्रेनकी एन्हेलिना कालिनालाई ६–०, ६–२ को सेटमा हराउँदै तेस्रो चरणमा स्थान बनाएकी हुन् । 

रुसकी दारिया कासतिनाले दशौं वरियाताप्राप्त स्विट्जरल्यान्डकी बोलिन्डा बेनकिकलाई ६–२, ६–२ को सोझो सेटमा हराइन् । 

तेस्रो वरियाताप्राप्त बेलारुसकी आर्यना साबालेन्काले आफ्नै देशकी एलिएसान्द्रा सास्नोभिकलाई ७–५, ६–३ को सोझो सेटमा हराउँदै तेस्रो चरणमा स्थान बनाइन् । साबालेन्काले अब एनेस्टासिया पाभ्लुचेन्कोभाविरुद्ध खेल्नेछिन् । रुसकी पाभ्लुचेन्कोभाले अस्ट्रेलियाकी एजला टोमजानोभिकलाई ६–२, ६–३ को सेटमा हराएकी थिइन् । 

१५औं वरियाताकी भिक्टोरिया अजरेन्का र २०१९ की उप विजेता मार्केटा भोन्ड्रोउसोभाले पनि तेस्रो चरणमा स्थान बनाए । बेलारुसकी अजरेन्कालेले डेनमार्ककी क्लारा टाउसनलाई ७–५, ६–४ को सेटमा हराइन् । २०औं वरियाताप्राप्त चेक गणतन्त्रकी भोन्ड्रोउसोभले फ्रान्सकी हार्मोनी टनलाई ६–१, ६–३ को सेटमा हराएकी हुन् । 

२०१७ को युएस ओपन उपविजेता म्याडिसन किजले क्यानडाकी १८ वर्षिया लेलाह एनी फर्नान्डेजलाई ६–१, ७–५ को सेटमा हराइन् ।