‘यो मैदानमा गोलका लागि होइन, भ्याक्सिनका लागि प्रतिस्पर्धा गर्ने समय हो’

रियो दि जेनेरियो, (खेलाडी)– कोभिड १९ को महामारीका कारण गत वर्ष रोकिएको दक्षिण अमेरिकी फुटबलको प्रतिष्ठित प्रतियोगिता कोपा अमेरिका २०२० को संस्करण सुरु हुन मात्र ११ दिन बाकी छ  । तर अप्रत्यासित रुपमा कोपा अमेरिका २०२० को आयोजनाको जिम्मेवारी लिने ब्राजिली निर्णयको अहिले तीब्र आलोचना भइरहेको छ ।

कोभिड १९ को विश्‍वव्यापी महामारीका कारण हालसम्म ब्राजिललमा ४ लाख ६५ हजार मानिसले ज्यान गुमाइसकेका छन् । कोभिड १९ महामारी नियन्त्रण गर्न नसकेको भन्दौ राष्ट्रपति जायर बोल्सोनारोमाथि अनुसन्धान जारी छ ।

ब्राजिलका सिनेटर रेनन कालहेइरोसको संयोजकत्वमा सो अनुसन्धान जारी छ । कलहेइरोसले कोपा अमेरिकालाई मृत्युको महोत्सवको संज्ञा दिँदै ब्राजिलका स्टइकर नेइमारलाई प्रतियोगितामा भाग नलिन सुझाव दिएका छन् ।

‘नेइमार, प्रतियोगितामा सहभागीता नजनाउ, जब तिम्रा साथीभाई, आफन्त, छिमेकी समग्र ब्राजिलियन जनता मरिरहेका छन्, सरकारले कोभिड १९ विरुद्धको भ्याक्सिन उपलब्ध गराउन सकिरहेको छैन, यस्तो अवस्थामा कसरी मैदान उत्रन सक्छौ?,’ कालहेइसोसले नेइमारलाई आह्वान गरेका छन्, ‘यो हामीले सहभागिता जनाउने समय नै होइन । हामीले अहिले फुटबल प्रतियोगिताको आयोजनामा प्रतिस्पर्धा गर्ने होइन । यो समय विश्वमा भ्याक्सिनमा प्रतिस्पर्धा गर्ने समय हो । यो समय मैदानमा गोल गर्ने होइन । यो त जनताको ज्यान जोगाउन समय हो । भ्याक्सिन जुटाउने मामिलामा हामी विश्‍वमै पछि परिसकेका छौ । ब्राजिलमा कोभिडबाट ज्यान गुमाउनेको संख्या विश्‍वकै दोस्रोमा पर्छ । त्यसैले सोच, हामी कुन प्रतिस्पर्धामा छौं । मलाई लाग्छ ब्राजिलको टोली पनि प्रतियोगिताको आयोजक बन्दा हर्षित छैन । आइसियु र कब्रस्थान भरिइसकेको छ । प्रतियोगितामा ब्राजिलले गोल गर्दा समेत हामी खुशीयाली मनाउने स्थितीमा छैनौ ।’

सन् २०२० मै कोपा अमेरिकाको आयोजना भैसक्नु पर्ने भए पनि कोभिड १९ महामारीका कारण प्रतियोगिता एक वर्षपछि सरेको थियो । यस संस्करण प्रतियोगिताको आयोजना कोलम्बिया र अर्जेन्टिनाले संयुक्त रुपमा गर्नु पर्ने थियो । तर कोलम्बियाले सरकारविरुद्धको प्रदर्शनको कारण देखाउदै सहआयोजकबाट पछि हटेको थियो भने अर्जेन्टिनाले कोभिड १९ संक्रमणको दर नियन्त्रण बाहिर गएको भन्दै प्रतियोगिता आयोजनाबाट हात झिकेको थियो । प्रतियोगिता सुरु हुन २ साता भन्दा कम समय बाँकी रहदा ब्राजिलले प्रतियोगिता आयोजनाको जिम्मेवारी लिएको थियो ।

प्रतियोगिता जुन १४ बाट सुरु हुदैछ, जहाँ ब्राजिल र भेनेन्जुएलाबीच उद्घाटन खेल हुनेछ ।

विश्‍व स्वास्थ संगठन(डब्लुएचओ)को अनुसार ब्राजिलमा हाल सम्म ६० लाख मानिसले कोभिड १९ विरुद्धको भ्याक्सिन लगाइसकेका छन् । 

अर्जेन्टिना पछि हटेपछि चिली, इक्‍वेडर र अमेरिकाले प्रतियोगिता आयोजनाको दाबेदारी प्रस्तुत गरेका थिए । तर दक्षिण अमेरिकी फुटबल महासंघले भने ब्राजिललाई आयोजनाको अधिकार दिएको थियो ।

पेरु र चिलीले प्रतियोगितामा टोली पठाउने बारे केही दिनमै अन्तिम निर्णय हुने जनाइसकेका छन् । दुवै राष्ट्रले लगातार दुई संस्करण एउटै देशलाई आयोजनाको जिम्मेवारी दिइनु गलत भएको बताउदै आएका छन् ।