‘डेब्यू’ खेलमा कोनवेको टेष्‍ट सतक 

लन्डन, (खेलाडी)– डेभोन कोनवेको शतकप्रेरित न्युजिल्यान्डले इङ्ल्यान्डविरुद्धको पहिलो टेष्‍टमा बलियो सुरुआत गरेको छ । लर्डस क्रिकेट मैदानमा पहिलो दिन सकिँदा टस जितेर ब्याटिङ गरेको न्युजिल्यान्ड २४६/३ को स्थितिमा छ । 

टेष्ट क्रिकेटको ‘डेब्यू’मै लर्डस क्रिकेट मैदानमा शतक प्रहार गर्ने २९ वर्षे कोनवे छैटौं खेलाडी बनेका छन् । दक्षिण अफ्रिकामा जन्मिएका कोनले ‘डेब्यू’ खेलमा शतक बनाउने न्युजिल्यान्डका ११औं खेलाडी बने । 

‘टेष्टमा डेब्यू गर्दै यो स्तरको क्रिकेट खेल्छु भन्‍ने मैले सोचेको थिइँन,’ कोनवेले भने, ‘मलाई यो अवसर दिनुहुने सबैप्रति आभारी छु ।’

ओपनर कोनवेले टम लाथमसँग पहिलो विकेटका लागि ५८ रनको साझेदारी गरे । त्यसपछि रस टेलरसँग तेस्रो विकेटका लागि २८ रनको साझेदारी गरेका कोनवले हेनरी निकोलससँग १३२ रनको अविजित साझेदारी गरेका छन् । 

न्युजिल्यान्डका कोनवे १३६ तथा हेनरी निकोलस ४६ रन बनाएर क्रिजमा छन् । केन विलियम्सन १३, टम लाथम २३ र रोस टेलर १४ रन बनाएर पवेलियन फर्किए । 

इङ्ल्यान्डका ओली रोबिन्सनले दुई र जेम्स एन्डरसनले एक विकेट लिए ।