मेड्भेडेभ,  सिटसिपस र जेरेभ तेस्रो चरणमा 

पेरिस (खेलाडी)– दोस्रो वरियाताका ड्यानिअल मेड्मेडेभले अमेरिकाका टोमी पाउललाई ३–१ ले पराजित गर्दै  फ्रेन्च ओपनको तेस्रो चरणमा स्थान बनाएका छन् । 

रुसका २५ वर्षे मड्मेडेभले पाउललाई ३–६, ६–१, ६–४, ६–३ को सेटमा हराएका हुन् । मेड्मेडेभले अब अमेरिकाका रिले ओपेल्काविरुद्ध खेल्नेछ् । ३५औं वरियाताका ओपेल्काले स्पेनका जाउमी मुनरलाई ६–३, ६–२, ३–६, ७–५ को सेटमा हराउँदै तेस्रो चरणमा स्थान बनाएका हुन् । 

पाँचौं वरियाताप्राप्त स्टेफानोस सिटसिपसले स्पेनका पेड्रो मार्टिनेजलाई ६–३, ६–४, ६–३ को सोझो सेटमा हराउँदै तेस्रो चरणमा स्थान बनाए । ग्रिसका २२ वर्षे सिटसिपसले अब अमेरिकाका जोन इस्‍नरविरुद्ध खेल्नेछ । ३१औं वरिायताका इस्‍नरले सर्वियाका फिलिप कार्जिनोभिकलाई ७–६(८/६), ६–१, ७–६(७÷५) को सेटमा हराएका हुन् । 

जर्मनीका एलेक्जेन्डर जेरेभले रुसका रोमन सफिउल्लाहलाई ७–६(७/४), ६–३, ७–६(७/१) को सेटमा हराए । छैटौं वरियाताका २४ वर्षे जेरेभले अब सर्वियाका लास्लो जेरसँग प्रतिस्पर्धा गर्नेछन् । जेरले आफ्नै देशका मियोमिर केकमानोभिकलाई ४–६, ४–६, ६–३, ६–२, ६–३ को सेटमा हराएका थिए । 

स्पेनका रोबर्टो बाउटिस्टा अगुट भने हेनरी लाकसोननसँग पराजित हुदै आश्चर्यजनक रुपमा फ्रेन्च ओपनको दोस्रो चरणबाटै बाहिरिएका छन् । ११औं वरियाताका अगुट स्विट्जरल्यान्डका लाकसोननसँग ३–६, ६–२, ३–६, २–६ को सेटमा पराजित भएका हुन् । 

लाकसोननले अब जापानका काई निशिकोरीविरुद्ध खेल्नेछन् । एक पटक युएस फाइनल खेलिसकेका निशिकोरीले रुसका करेन खाचनोभलाई पाँच सेटको संघर्षमा पराजित गर्दै तेस्रो चणमा स्थान बनाएका छन्। निशिकोरीले २३औं वरियाताका खाचनोभलाई हराउँन ३ घण्टा ५९ मिनेट समय लगाए। निशिकोरीले ४–६, ६–२, २–६, ६–४, ६–४ को सेटमा विजय हासिल गरेका हुन् । 

१५औं वरियाताप्राप्त नर्वेका कास्पर रुडले पोल्यान्डका कामिल माचजाकलाई ६–३, ६–२, ६–४ को सेटमा पराजित गर्दै तेस्रो चरणमा स्थान बनाए ।