लामो समयपछिको पुनरागमनमा मुलर चुक्दा जर्मनी विजयविमुख

एजेन्सी । थोमस मुलर र म्याट्स हुमेल्स २०१८ पछि पहिलो पटक टिममा फर्किँदा जर्मनीले गएराति मैत्रीपूर्ण खेलमा डेनमार्कसँग १–१ को बराबरी खेलेको छ । 

मुख्य प्रशिक्षक जोचिम लोउले मुलर र हुमेल्ससँग जेरोमी बोएटिङलाई पनि टिमबाट सँगै हटाएका थिए । तर उनले यसपाली मुलर र हुमेल्सलाई भने टिममा बोलाए । मुलरले ३९औं मिनेटमा जर्मनीका लागि ३९औं गोल गर्ने राम्रो अवसर पाएका थिए ।  तर उनले उक्त अवसरको सदुपयोग गर्न सकेनन् । जर्मनीबाट मुलरको यो १०१औं खेल हो । 

जर्मनीले फ्लोरिन नेउहउसको गोलबाट ४८औं मिनेटमा अग्रता लिएको थियो । डेनमार्कका युसुफ पोउल्सनले ७१औं मिनेटमा बराबरी गोल फर्काए । डेनमार्कले २०१८ यता दुई खेलमात्र हारेको छ । युरोपियन च्याम्पियनसिप (युरो २०२०) को तयारीस्वरुप डेनमार्कले अब आइतबार बोस्‍निया एण्ड हर्जगोभिनाविरुद्ध मैत्रीपूर्ण खेल्नेछ । त्यसपछि १२ जुनमा फिनल्यान्डसँग खेल्दै टोलीले  युरो २०२० को सुरुआत गर्नेछ । 

जर्मनीले सोमबार लाट्भियाविरुद्ध मैत्रीपूर्ण खेल्नेछ । त्यसपछि १६ जुनमा फ्रान्ससँगको खेलबाट यरोपियन च्याम्पियनसिपको सुरुअत गर्नेछ । जर्मनीले ‘ग्रुप अफ डेथ’ मानिएको समूह ‘एफ’ मा फ्रान्स, पोर्चुगल र हंगेरीसँग प्रतिस्पर्धा गर्नुपर्नेछ ।