कोभिड संक्रमणका कारण गफले ओलम्पिक नखेल्ने

टोकियो, (खेलाडी)- कोभिड १९ को संक्रमण पुष्‍टी भएपछि अमेरिकी किशोरी टेनिस स्टार कोको गफले आसन्‍न टोकियो ओलम्पिक २०२० मा सहभागिता जनाउन नपाउने भएकी छिन् । 

एन्जेलिक केर्बेरसँग पराजित हुनुअघि विम्बल्डनको अन्तिम १६ सम्म पुगेकी गफ विश्‍व वरियताको २५औं स्थानमा पुगिसकेकी छिन् । १७ वर्षे गफको जारी सिजनमा जित-हारको तथ्यांक ३१-१२ ले उनको पक्षमा छ । गत मे महिनामा उनले क्ले कोर्टमा सम्पन्‍न इमिलिया रोमाग्‍ना ओपनको उपाधि जितेकी थिइन ।

गफले सामाजिक सञ्‍जालमार्फत आफू कोभिड १९ पोजेटिभ भएको र ओलम्पिक टिमबाट बाहिरिएको खवर सार्वजनिक गरेकी थिइन । 

‘मलाई कोभिड १९ संक्रमण भयो भन्‍ने खवर सार्वजनिक गर्नुपर्दा म अत्यन्तै दु्ःखी छु । संक्रमणका कारण मैले टोकियो ओलम्पिक गुमाउनुपर्ने भएको छ,’ गफले लेखेकी छिन्, ‘ओलम्पिकमा अमेरिकालाई प्रतिनिधित्व गर्ने मेरो ठूलो सपना थियो । यसपालीलाई त्यो थाँती रहे पनि आगामी दिनमा यस्तो अवसर फेरी पाउने मैले आशा गरेकी छु । आफू खेल्न नपाउने भए पनि म अमेरिकी टिमलाई सफलताका लागि शुभकामना व्यक्त गर्न चाहन्छु ।’

अमेरिकी टेनिस संघले पनि गफलाई संक्रमण भएको पुष्‍टी गर्दै उनको अनुपस्थितीमा दुःख व्यक्त गरेको छ । 

‘गफको खवरबाट संघ अत्यन्तै दु्ःखी छ । हामी उनलाई चाढो भन्दा चाढो संक्रमण मुक्त हुनका लागि शुभकामना दिन चाहन्छौं । अमेरिकाको ओलम्पिक टोलीमा उनको अभाव खट्किइरहने छ,’ संघद्धारा जारी विज्ञप्तिमा भनिएको छ ।