मेसीको पिएसजी सरुवा स्वर्णिम क्षण : परेड्स

पेरिस, (खेलाडी)- अर्जेन्टिनी मिड्फिल्डर लियोनार्दो परेड्सले लियोनेल मेसीले पेरिस सेन्ट जर्मन (पिएसजी) सरुवाका लागि बार्सिलोना छोडे त्यो आफ्नो लागि स्वर्णिम द‍ृष्‍य हुने बताएका छन् ।

गत वर्ष मेसीले क्याम्प नोउ छोड्ने इच्छा देखाएपछि उनलाई भित्र्याउन फ्रान्सेली लिग वानको महारथी पिएसजी तथा इङ्लिस प्रिमियर लिगको टोली म्यानचेस्टर सिटीले थुप्रै पटक प्रयास गरिसकेका छन् । 

तर मेसीले सम्झौता बाँकी रहेसम्म बार्सिलोनामै बस्‍ने निर्णय लिएपछि गत सिजनमा उनलाई भित्र्याउने थुप्रै क्लबका प्रयास थाँती रहेका थिए । गत जुन ३० बाट भने मेसीको बार्सिलोनासँग सम्झौता सकिइसकेको छ । उनी त्यसयता स्वतन्त्र सरुवाका लागि खुला भइसकेका छन् । 

बार्सिलोनाले सम्झौता सकिएर स्वतन्त्र सरुवाका लागि खुला भए पनि मेसीसँग पाँच वर्षको नयाँ सम्झौतामा सहमति जुटाइसकेको स्पेनिस सञ्‍चार माध्यमहरुले जनाएका छन् । समाचारहरुमा जनाइएअनुसार मेसीले नयाँ सम्झौताको आगामी पाँच वर्षे अवधिमा यसअघि पाउँदै आएको पारिश्रमिकको आधा रकम मात्र पाउने छन् । 

‘हो गत सिजनमा मेसीको पिएसजी सरुवाका लागि धेरै चरणमा छलफल भएका थिए । तर अब उनी स्पेनमै रहने खवर सुनिएको छ । उनले पिएसजीका लागि बार्सिलोना छोड्ने खवर मेरा लागि स्वर्णिम खवर हुन्थ्यो, तर दूर्भाग्यवश त्यो हुने सम्भावना अत्यन्तै न्युन छ,’ परेड्सले भने ।

व्यावसायिक फुटबलको पूरा करियर बार्सिलोनामा विताएका मेसीले अहिलेसम्म क्याटालानको टोलीका लागि ७ सय ७८ खेल खेल्दै कीर्तिमानी ६ सय ७२ गोल गरिसकेका छन् । बार्सिलोनाको इतिहासमै मेसी उच्च गोलकर्ता हुन् । 

वितेको सिजनमा पनि उनी बार्सिलोनाका लागि अत्यन्तै प्रभावकारी सावित भएका थिए । वितेको सिजनमा ला लिगाको उच्च गोलकर्ता बनेका मेसीले टोलीका लागि ३८ गोल गर्दै १२ गोलको अवसर सिर्जना गरेका थिए ।