बार्टीविरुद्धको फाइनल प्लिसकोभाको चाहना

लन्डन, (खेलाडी)- क्यारोलिना प्लिसकोभाले विम्बल्डन फाइनलमा एश्लेघ बार्टीसँग विम्बल्डनको फाइनल खेल्न पाउनु आफ्नो चाहना बमोजिम भएको बताएकी छिन् ।

‘एश बार्टीविरुद्धको फाइनलभन्दा राम्रो अर्को फाइनल हुन सक्दैन,’ एरिना साबालेन्कामाथि सेमिफाइनलमा जित हासिल गर्दै बार्टीविरुद्धको भिडन्त पक्का गरेकी प्लिसकोभाले भनिन ।

बार्टी र प्लिसकोभा दुवैका लागि विम्बल्डनमा यो पहिलो फाइनल हो । प्लिसकोभाले बिहीबार राति सेन्टर कोर्टमा साबालेन्कामाथि ५-७, ६-४, ६-४ को जित हासिल गर्दै पहिलो पटक फाइनलमा स्थान सुरक्षित गरेकी थिइन । यसैगरी विश्‍व नम्बर एक बार्टीले बिहीबारै चाढोगरी सम्पन्‍न सेमिफाइनलमा एन्जेलिक केर्बेरमाथि ६-३, ७-६(७/३) को जित हासिल गरेकी थिइन ।

आठौं वरियताकी प्लिसकोभाले अस्ट्रेलियन स्टार बार्टीविरुद्धको फाइनल भिडन्त पक्का गर्दा आफू गौरवान्वित भएको बताइन । 

‘योभन्दा राम्रो फाइनल हुन सक्दैनथ्यो । फाइनलमा सर्वोत्कृष्‍ट खेलाडीसँग खेल्ने चाहना सबैको हुन्छ । मेरो पनि थियो । म पनि फाइनलमा अरुभन्दा बार्टी नै प्रतिद्वन्द्वी हुन भन्‍ने चाहन्थेँ,’ चेक गणतन्त्रकी प्लिसकोभाले भनिन्, ‘हामीबीच विगतमा केही राम्रा खेल भएका छन् । पक्कै पनि दुई पटक म पराजित भएँ । तर मेरो विचारमा उनले यसपाली कठिन चुनौती सामना गर्नुपर्छ । ग्रास कोर्टमा मलाई पनि कठिन हुनेछ । उनको स्लाइस र समग्र खेल्ने शैलीका कारण उनी दाबेदार हुन् । तर म उनीविरुद्ध खेल्नका लागि तयार छु ।’

कागजमा बार्टी दाबेदार भए पनि फाइनलमा जस्तोसुकै नतिजा पनि सम्भव हुने प्लिसकोभाले बताइन । ‘मेरो विचारमा हामी दुवैसँग जित्‍ने राम्रो सम्भावना छ । उनी ग्राण्ड स्लामकी च्याम्पियन भइसके पनि विम्बल्डनमा भने उनको पनि यो पहिलो फाइनल हो,’ प्लिसकोभाले थपिन, ‘नतिजा जे भए पनि खेल अत्यन्तै रोमाञ्‍चक हुनेमा शंका छैन ।’