यु २३ एसियन कपको ‘ड्र’, नेपाली युवा टोलीले इरान, ताजिकिस्तान र लेबनानसँग खेल्ने

काठमाडौं, (खेलाडी)- एएफसी यु २३ एसियन कपको छनोटमा नेपाली युवा टोलीले समूह ‘बी’ मा इरान, ताजिकिस्तान र लेबनानसँग प्रतिस्पर्धा गर्नुपर्ने भएको छ ।

अर्को वर्ष उज्वेकिस्तानमा हुने प्रतियोगिताका लागि ४२ टोलीलाई ११ समूहमा विभाजन गरिएको छ । सबै समूहका विजेता स्वत प्रतियोगितालाई छानिन्छन् भने उपविजेता हुनेमध्ये चार उत्कृष्‍ट टोलीले पनि उज्वेकिस्तानको टिकट काट्नेछन् । 

मध्य एसियामा पहिलो पटक हुन लागेको प्रतियोगिताका लागि उज्वेकिस्तान आयोजकको हैसियतले छनोट भइसकेको छ । छनोट प्रतियोगिता अक्टोबर २३ देखि ३१ सम्म हुने एसियाली फुटबल महासंघ (एएफसी)ले जनाएको छ । 

होम एण्ड अवे पद्दतिमा छनोट खेल गर्नु पर्ने भए पनि कोभिड १९ महामारीका कारण एएफसीले पछिल्लो समय सबै प्रतियोगिताका खेलहरु निश्‍चित स्थानमा सेन्ट्रल भेन्युका रुपमा आयोजना गर्दै आएको छ । त्यहीअनुसार यु २३ एएफसी कपको छनोट चरणमा पनि एक स्थानमा एक समूहको खेल गराइनेछ । 

त्यसअनुसार समूह ‘बी’ का खेलका लागि नेपालले ताजिकिस्तानको भ्रमण गर्नेछ । अक्टोबर २७ मा इरानसँग खेल्दै छनोट प्रतियोगिताको सुरुआत गर्ने नेपाली युवा टोलीले त्यसको दुई दिनपछि आयोजक ताजिकिस्तानसँग खेल्नेछ । अक्टोबर ३१ मा लेबनानसँग खेल्दै नेपालले प्रतियोगिताको अन्त्य गर्नेछ । 

अर्को वर्ष उज्वेकिस्तानमा १६ टिमबीच हुने प्रतियोगितामा सहभागिता जनाउनका लागि नेपालले आफ्नो समूहको विजेता बन्‍नुपर्नेछ । विजेता बन्‍न नसके पनि राम्रो नतिजाका साथ दोस्रो स्थानमा रहन सके उत्कृष्‍ट चार उपविजेतामा पर्दै उज्वेकिस्तान यात्रा गर्ने नेपालको सम्भावना कायम रहनेछ ।