साबिक विजेता स्विएटेकले सुखद जन्मदिन, फ्रेन्च ओपनको दोस्रो चरणमा


पेरिस, जेठ १८ (खेलाडी)– साबिक विजेता इगा स्विएटेकले २०औं जन्मदिन सुखद रुपमा मनाएकी छिन् । पोल्यान्डकी स्विएटेकले गए राति स्लोभेनियाकी काजा जुवानलाई ६–०, ७–५ को सेटमा हराउँदै फ्रेन्च ओपनको दोस्रो चरणमा स्थान सुरक्षित गर्दै २०औं जन्मदिन मनाइन । 

स्विएटेकले गत वर्ष १९ वर्षको उमेरमा कुनै सेट नगुमाई उपाधि जितेकी थिइन् । उनले अब दोस्रो चरणमा स्विडेनकी रिबेका पिटर्सनविरुद्ध खेल्नेछिन् । पिटर्सनलले अमेरिकाकी शेल्बी रोजर्सलाई ६–७(३÷७), ७—६(१०÷८), ६–२ को सेटमा हराएर दोस्रो चरणमा स्थान पक्का गरेकी थिइन् ।

अमेरिकाकी सोफिया केनिनले २०१७ की विजेता जेलेना ओस्टापेन्कालाई ६–४, ४–६, ६–३ को सेटमा हराएर दोस्रो चरणमा स्थान सुरक्षित गरिन् । चौथो वरियाताकी केनिन गत वर्षको उपविजेता हुन् । केनिन गत सिजन फाइनलमा स्विएटेकसँग पराजित भएकी थिइन् ।