डी ब्रुयनाको शल्यक्रिया गर्नु नपर्ने, बेल्जियन टिममा सहभागी हुने तयारी

म्यानचेस्टर, जेठ १८ (खेलाडी)– म्यानचेस्टर सिटीका मिडफिल्डर केभिन डी ब्रुयनाको शल्यक्रिया गर्नु नपर्ने भएको छ । च्याम्पियन्स लिगको फाइनलमा चेल्सीका रक्षक एन्टोनियो रुडिगरसँग ठोक्किँदा डी ब्रुयनाको नाक भाँचिएको थियो । 

प्रारम्भिक परिक्षणको क्रममा चिकित्सकहरुले उनको चोट गम्भीर भएको हुन सक्ने अनुमान गरेका थिए । त्यहीअनुसार उनको शल्यक्रिया गर्नु पर्न सक्ने बताइएको थियो । तर शल्यक्रिया गर्नु नपर्ने भएपछि उनी अर्को साता बेल्जियमको राष्ट्रिय टिममा सामेल हुने प्रशिक्षक रोबर्टो मार्टिनेजले बताए ।

गत शनिबार सम्पन्न च्याम्पियन्स लिग फाइनलमा घाइते भएपछि २९ वर्षे डी ब्रुयनाले ६०औं मिनेटमा मैदान छाडेका थिए । उनलाई ग्याब्रियल जिससले प्रतिस्थापन गरेका थिए । फाइनलमा सिटी चेल्सीसँग १–० ले पराजित भएको थियो । 

बेल्जियमका प्रशिक्षक मार्टिनेजले टिम डी ब्रुयना चाडै फर्किने आशामा रहेको बताए । मार्टिनेजले केही दिनको आरामपछि डी ब्रुयना अभ्यासमा फर्किने विश्वास व्यक्त गरेका छन् । तथापी युरो २०२० को पहिलो खेलमा डी ब्रुयना उपलब्ध हुनेमा भने शंका छ । बेल्जियमले पहिलो खेल १२ जुनमा रुसविरुद्ध खेल्नेछ ।