यो उपाधि यानामा समर्पित : फ्रेन्च ओपन च्याम्पियन क्रेसिकोभा

पेरिस, (खेलाडी)- आकासतिर एक नजर, फराकिलो मुस्कान र हावामा एक चुम्बन दिएपछि उनले भनिन, ‘मैले यो गरेँ, याना हामीले यो सफलता हासिल गर्‍यौं ।’

बार्बोरा क्रेसिकोभा ग्राण्ड स्लामको एकल विधाकी च्याम्पियन भइसकेकी छिन् । विश्‍व वरियताक्रमको शीर्ष एक सयभित्र परेको आठ महिनाकै समयमा उनले ग्राण्ड स्लाम जित्‍ने सफलता हासिल गरिन । हो पक्कै पनि ती भलादमी चेक खेलाडीले आफूलाई महामारीकी बहादुर च्याम्पियनका रुपमा स्थापित गरेकी छिन् । 

याना नोभोट्ना उनकी पूर्व प्रशिक्षक र अभिभावक थिइन । यानाको क्यान्सरका कारण २०१७ को नोभेम्बरमा ४९ वर्षको उमेरमा मृत्यु भएको थियो । महिला टेनिसमा लामो समयसम्म उच्च स्तरमा प्रतिस्पर्धा गर्नुका बावजुद यानाले एक पटकमात्र ग्राण्ड स्लाम एकलको उपाधि जितेकी थिइन । तर शनिबार राति रोलान्ड गारोसमा आफूले फ्रेन्च ओपनको उपाधि जित्‍नुमा यानाकै प्रभाव र प्रेरणा मान्छिन, क्रेसिकोभा ।

नोभोट्नाले करियरमा जितेका १६ युगल ग्राण्ड स्लाम उपाधिभध्ये १४ वटा १९९८ मा विम्बल्डनमा एकलको उपाधि जित्‍नुअघि नै जितेकी थिइन । उनकी चेली क्रेसिकोभाले युगलमा पाँच प्रमूख उपाधि जितिसकेकी छिन् । एकलतर्फ भने ग्राण्ड स्लाममा हिजो जितेको फ्रेन्च ओपन पहिलो उपाधि थियो । 

शनिबार क्रेसिकोभालाई उपाधि हस्तान्तरण गरेकी मार्टिना नाभ्रातिलोभाले पनि एकलमा उपाधि जित्‍नुअघि फ्रेन्च ओपन, विम्बल्डन र युएस ओपनमा युगलका उपाधि जितिसकेकी थिइन । यसअर्थमा पहिला युगल अनि एकलमा सफलता पाउनु चेक गणतन्त्रका खेलाडीहरुको परम्पराजस्तै भन्‍न सकिन्छ । तर अहिलेसम्मको यात्रा हेर्दा क्रेसिकोभाको करियरले अर्कै संकेत गरेजस्तो देखिन्छ । उनी महिला एकलतर्फ लामो समयसम्म विश्‍व टेनिसलाई राज गर्न आएजसरी प्रस्तुत भएकी छिन् । 

बर्नोकी २५ वर्षे क्रेसिकोभाले ग्राण्ड स्लाममा एकल, युगल र मिश्रित युगलमा उपाधि जित्‍ने थोरै च्याम्पियनको बीचमा आफूलाई उभ्याइसकेकी छिन् । 

शनिबारको जितपछि सोमबार विश्‍व टेनिस महासंघले सार्वजनिक गर्ने नयाँ वरियतामा उनी १५औं स्थानमा उक्लिने छिन् । युगल वरियताको शीर्ष स्थानमा उनी फर्किन पनि सक्नेछिन् । रोलान्ड गारोसमा उनी र उनकी पार्टनर कटेरिना सिनिआकोभा आइतबारको फाइनललाई छनोट भइसकेका छन् । फाइनलमा उनीहरुले गतवर्षकी एकल च्याम्पियन इगा स्विआटेक र बेथानी माटेक स्यान्ड्सको जोडीसँग उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन् । त्यो खेल जितेमा उनी युगल वरियताको शीर्ष स्थानमा पुग्‍नेछिन् । 

एकलतर्फको फाइनलमा गए राति उनले रुसकी एनास्थासिया पाभ्लुचेन्कोभालाई तीन सेटसम्म चलेको प्रतिस्पर्धामा ६-१, २-६, ६-४ को सेटमा पराजित गरेकी थिइन । पहिलो पटक ग्राण्ड स्लाम च्याम्पियन हुने वित्तिकै उनले कोर्टमै उभिएर आकासतिर हेरेर आफ्नी पूर्व प्रशिक्षक एवं अभिभावक यानालाई सम्बोधन गरेकी थिइन । 

‘यानाको मृत्युपछि मेरा समय निक्कै कठिन रुपमा बिते । अधिकांस समय म उनीसँगै हुन्थेँ । मैले ग्राण्ड स्लाम जितेको हेर्ने उनको चाहना थियो । उनी मलाई च्याम्पियन खेलाडी होस भन्‍ने चाहन्थिन । त्यसले भने मलाई सधै टेनिसमा समर्पित भएर लागिरहन प्रेरित गर्‍यो । अहिले यो सफलता उनकै प्रेरणाको फल हो,’ उपाधि थापेपछि भावुक बनेकी क्रेसिकोभाले भनिन, ‘मलाई थाहा छ, अहिले उनले माथिबाट यो खेल हेरिरहेकी थिइन । उनले रोलान्ड गारोसका वितेका दुई साता राम्ररी हेरिन र अहिले उनी पक्कै पनि खुसी छिन् । म यो उपाधि उनैमा समर्पण गर्न चाहन्छु ।’

‘अन्तिम स्वास लिइरहने क्रममा यानाले मलाई टेनिसमा समर्पित भएर लागिरहन र ग्राण्ड स्लाम जित्‍ने प्रयास गर्न भनेकी थिइन । त्यसैल आज म अत्यन्तै खुसी छु । उनी पनि माथि बसेर खुसी मनाइरहेकी होलिन,’ क्रेसिकोभाले थपिन ।