इन्टरको ह्‍वाटसएप ग्रुपमा इरिक्सनले अस्पतालबाटै गरे म्यासेज

कोपनहेगन, (खेलाडी)- युरोपियन च्याम्पियनसिप (युरो २०२०) अन्तर्गत गए राति फिनल्यान्डविरुद्धको खेल दौरान मैदानमा अचानक चिन्ताजनक ढंगमा ढलेका डेनमार्कका मिड्फिल्डर क्रिस्टियन इरिक्सनले स्वास्थ्यमा सुधार आएपछि आफ्नो क्लब इन्टर मिलानका सहयात्रीहरुसँग सम्पर्क गरेको क्लबका प्रमूख कार्यकारी अधिकृत (सिइओ) गुइसेप मारोटाले बताएका छन् । 

कोपनहेगनमा गए राति खेल दौरान इरिक्सन मैदानमा आफ्नो वरिपरी कोही पनि नहुँदा मध्यान्तर हुन केही बेर बाँकी रहँदा अचानक डरलाग्दो तरिकाले बेहोस भएर ढलेका थिए । तत्काल खेल रोकेर उनको उपचार सुरु गरिएको थियो । अवस्था चिन्ताजनक देखिएपछि उनलाई उपचारार्थ एम्बुलेन्समा राखेर अस्पताल लगिएको थियो । इरिक्सनलाई अस्पताल लगेपछि डेढ घण्टाभन्दा बढि समय स्थगित गरिएको खेल पुन सुचारु भयो, जसमा फिनल्यान्डले १-० ले नतिजा हात पार्‍यो । 

इरिक्सनको स्वास्थ्यस्थितीले खेलको नतिजालाई छायाँमा पार्‍यो । पूरा विश्‍व फुटबल परिवार इरिक्सनको स्वास्थ्यलाभको कामनामा व्यस्त भयो । ‘सबैको शुभकामना र आर्शिवादको फल आउन थालेको छ । क्रिस्टियनले हाम्रो क्लबको ह्‍वाटसएप ग्रुपमा म्यासेज गरेका छन् । उनको अवस्था अहिले धेरै राम्रो भएको हामीले जानकारी पाएका छौं । उनी चाढै ठिक भएर अस्पतालबाट फर्किनेमा हामी आशावादी छौं,’ इन्टरका सिइओले भने ।