नाडाललाई निराश पार्दै जोकोभिच फ्रेन्च ओपनको फाइनलमा

पेरिस, (खेलाडी)- विश्‍व वरियताक्रमको शीर्ष स्थानमा रहेका सर्वियाली खेलाडी नोभाक जोकोभिचले गए राति चार सेटसम्म चलेको प्रतिस्पर्धामा स्पेनका राफेल नाडाललाई पराजित गर्दै फ्रेन्च ओपनको फाइनलमा स्थान सुरक्षित गरेका छन् । 

जोकोभिचसँग सेमिफाइनलमा भोगेको पराजयपछि विश्‍व नम्बर तीन खेलाडी नाडालको १४औं पटक फ्रेन्च ओपन जित्‍ने लक्ष्य पूरा हुन सकेन । क्लेकोर्टमा खेलेका १ सय ८ खेलमध्ये नाडालको यो तेस्रो हार थियो । पहिलो सेट जित्‍नाका बावजुद नाडालले जोकोभिचविरुद्ध त्यसपछि अग्रता जोगाउन सकेनन् ।

४ घण्टा ११ मिनेटसम्म चलेको प्रतिस्पर्धामा जोकोभिचले ३-६, ६-३, ७-६(४), ६-२ ले नतिजा आफ्नो पक्षमा पार्दै दोस्रो पटक फ्रेन्च ओपन जित्‍ने लक्ष्यको बाटोमा आफूलाई कायम राखे । यसअघि एक पटक फ्रेन्च ओपन जितेका जोकोभिचले समग्रमा भने १८ वटा ग्राण्ड स्लाम उपाधि जितिसकेका छन् । 

फाइनलमा जोकोभिचले पाँचौं वरियताका स्टिफन्स सिसिपससँग प्रतिस्पर्धा गर्नेछन् । जोकोभिचको हकमा यो करियरको २९औं ग्राण्ड स्लाम फाइनल हो भने ग्रिसका खेलाडी सिसिपस पहिलो पटक कुनै पनि ग्राण्ड स्लाम प्रतियोगिताको फाइनल पुगेका हुन् । 

सिसिपसले सेमिफाइनलमा जर्मनीका एलेक्जेन्डर जेभरेवलाई हराएर उपाधि भिडन्तका लागि आफूलाई लायक बनाएका थिए । फाइनल आइतबार हुनेछ ।