विश्‍वकप छनोटमा नेपालको प्रदर्शन उत्कृष्‍ट : एन्फाका पूर्व अध्यक्ष थापा

काठमाडौं (खेलाडी)- अखिल नेपाल फुटबल संघ (एन्फा)का पूर्व अध्यक्ष गणेश थापाले फिफा विश्‍वकप २०२० तथा एएफसी एसिया कप २०२३ छनोट प्रतियोगिताको पहिलो र दोस्रो चरणमा नेपालले उत्कृष्‍ट प्रदर्शन गरेको बताएका छन् । 

‘प्रथम चरण तथा दोस्रो चरणमा नेपाली राष्‍ट्रिय टिमले गरेको प्रदर्शन उत्कृष्‍ट रहेको छ । प्रथम चरण र दोस्रो चरणका प्रशिक्षक तथा सम्पूर्ण खेलाडी र व्यवस्थापकहरुलाई धेरै धेरै बधाई दिन चाहन्छु,’ समाजिक सञ्‍जाल फेसबुकमा थापाले खेलेका छन् । 

नेपालले गए राति कुवेतमा सम्पन्‍न खेलमा अस्ट्रेलियालाई ३-० को ‍नतिजा सुम्पिदै विश्‍वकप २०२० तथा एएफसी  एसिया कप २०२३ छनोट दोस्रो चरणको अन्त्य गरेको छ । प्रतियोगिताको समूह ‘बी’ मा रहेको नेपाल ६ अंकका साथ चौथो स्थानमा रह्‍यो । नेपालले चाइनिज ताइपेईलाई दुवै खेलमा समान २-० को नतिजामा हराएको थियो । 

होम एण्ड अवे पद्दतिमा प्रतियोगिता गराइएको भए पनि नेपालले होम खेलको फाइदा लिन पाएन । भुकम्पले भत्किएको रंगशाला समयमै निर्माण नहुनुका साथै कोभिड १९ महामारीको दोस्रो लहरका कारण नेपालले घरेलु मैदानमा खेल्न पाएन । अस्ट्रेलियासँग पहिलो खेलमा ५-० ले पराजित भएको थियो । कुवेतसँग पहिलो खेलमा ७-० ले हारेको नेपालले दोस्रो खेलमा १-० को नतिजा निकाल्यो । जोर्डनसँग दुवै खेलमा नेपाल समान ३-० को नतिजामा पराजित भयो । 

एएफसीका उपाध्यक्ष रहिसकेका थापाले यस्तो प्रतियोगितामा ठूला टिमसँग खेलेको अनुभवले प्लेअफ र साफ च्याम्पियनसिपमा नेपालले सफलता पाउने विश्‍वास लिएका छन् । विश्‍वकप छनोटको यात्रा समाप्त भए पनि नेपालले अब एसियन कप छनोटको प्लेअफ खेल्नेछ । थापाले नेपाली टिमलाई एसियन कप प्ले अफ र साफ च्याम्पियनसिपका लागि शुभकामना दिएका छन् । 

‘यस्तो किसिमका अनुभवहरुबाट अब हुने एसिया कप छनोटका प्लेअफका खेल र साफ च्याम्पियनसिपमा सफलताको शुभकामना दिन चाहन्छु । विशेषगरी हरेकपटक नेपाली फुटबललाई माया र  हौसला प्रदान गर्ने  सम्पूर्ण फुटबल समर्थकलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु,’ थापाले लेखेका छन् ।