प्रभावशाली जितसहित प्रमूख प्रतियोगितामा इटालीको पुनरागमन

रोम, (खेलाडी)- युरोपियन च्याम्पियनसिप (युरो २०२०) को उदघाटन खेलमा टर्कीमाथि ३-० को एकतर्फी जित हासिल गर्दै इटालीले गए राति प्रमूख अन्तर्राष्‍ट्रिय प्रतियोगितामा प्रभावशाली पुनरागमन गरेको छ । 

२०१८ को विश्‍वकपमा छनोट हुन नसकेको इटालीले त्यसपछि रोबर्टो मान्चिनीको नेतृत्वमा टिम पुर्ननिर्माण गरेको थियो । मान्चिनीको नेतृत्व पाएपछि इटालीले आफूलाई फेरी विश्‍व फुटबलमा बलियो दाबेदारका रुपमा स्थापित गरेको छ । 

रोमको ओलम्पिको स्टेडियोमा टर्कीका मेरिथ डेमिरलले ५३औं मिनेटमा आत्मघाति गोल गरेपछि इटालीले अग्रता लिएको थियो । लोरेन्जो स्पिनाजोलाको पासमा सिरो इमोबिलले ६६औं मिनेटमा गोल गर्दै टोलीको अग्रता दोब्बर पारे । समय सकिन ११ मिनेट बाँकी रहँदा लोरेन्जो इन्सिग्‍नेले इमोबिलको पासमा गोल गर्दे इटालीको पक्षमा ३-० को जित पक्का गरे । 

युरो २०२० को समूह ‘ए’मा विजयी सुरुआत गर्न सफल इटालीले बुधबार यही मैदानमा स्विट्जरल्यान्डलाई निम्त्याउनेछ भने टर्कीले बाकुमा वेल्सलाई आतिथ्य प्रदान गर्नेछ ।

प्रतियोगितामा आज राति तीन खेल हुनेछन् । समूह ‘ए’कै वेल्स र स्विट्जरल्यान्ड नेपाली समयअनुसार साँझ पौने सात बजे आमने सामने हुँदा राति पौने दश बजे डेनमार्क र फिनल्यान्डबीच खेल हुनेछ । यसैगरी राति पौने एक बजे फिफा विश्‍व वरियताक्रमको शीर्ष टोली बेल्जियमले रुससँग प्रतिस्पर्धा गर्दै प्रतियोगिताको सुरुआत गर्नेछ ।