साग पदकधारी खेलाडीलाई नागार्जुन नगरपालिकाको सम्मान

काठमाडौं, (खेलाडी)- डेढ वर्षअघि नेपालमै भएको १३औं दक्षिण एसियाली खेलकुद (साग) मा पदक जित्‍ने खेलाडी तथा प्रशिक्षक गरी आफ्नो नगरभित्र बसोबास गर्ने ६ खेलकर्मीलाई नागार्जुन नगरपालिकाले सम्मान गरेको छ ।

तीन महिनाअघि भएको वीर गणेशमान सिंह राष्‍ट्रिय बक्सिङ प्रतियोगिताको समिक्षा तथा सम्मान कार्यक्रममा १३औं सागका स्वर्णधारी खेलाडी सञ्‍जिला तिमल्सिना र जुडोका देविका खड्का, रजत पदक विजेता जुडोका इन्द्रबहादुर श्रेष्‍ठ र मनिता श्रेष्‍ठ प्रधान, तेक्‍वान्दोका अस्मिता खड्का र अस्मिन राउत र तेक्‍वान्दो प्रशिक्षक नोर्बु लामालाई नगदसहित सम्मानित गरियो । 

स्वर्ण पदकधारी तिमल्सिना र खड्काले जनही २५ हजार रुपैयाँ पाउँदा रजत जित्‍ने खेलाडीहरु श्रेष्‍ठ र प्रधानले जनही १५ हजार, अस्मिता खड्का र अस्मिन राउतले जनही १० हजार तथा प्रशिक्षक लामाले ५५ हजार रुपैयाँ प्राप्त गरे ।

तेक्वान्दो प्रशिक्षक लामा २५ वर्ष देखि नागर्जुन ९ स्थित स्यूचाटार तेक्‍वान्दो डोजाङका प्रमुख प्रशिक्षक हुन् भने  १३औं सागमा पनि उनी नेपाली तेक्वान्दो टिमको प्रशिक्षक थिए । सम्मानित भएकामध्ये तीन खेलाडी स्युचाटार तेक्‍वान्दो डोजाङका हुन् । 

कार्यक्रममा नार्गजुन नगरपालिकाका मेयर मोहनबहादुर बस्‍नेतले देशका लागि पदक जित्‍ने खेलाडीलाई सम्मान गर्न पाउँदा आफू गौरवान्वित भएको बताए । नगरपालिकालाई खेलकुदको केन्द्र बनाउने उद्देश्यअनुसार कभर्डहल बनाउन लागेको उनले जानकारी गराए ।