काठमाडौं । नेपाल ओलम्पिक कमिटी (एनओसी)ले आइतबार स्वयम्भूको विश्व स्तुपामा दीप प्रज्ज्वलन गरी स्पोर्टस फर डेभलपमेन्ट एन्ड पिस अन्तर्राष्ट्रिय दिवस मनाएको छ ।
एनओसीले पछिल्ला वर्षमा स्पोर्टस फर डेभलपमेन्ट एन्ड पिस अन्तर्राष्ट्रिय दिवस लुम्बिनीमा मनाउँदै आएको थियो । एनओसीका अध्यक्ष जीवनराम श्रेष्ठले यस वर्ष लुम्बिनीमा पिस म्याराथन र इन्टरनेसन योग दिवस यसअघि नै सम्पन्न भइसकेकाले यस पटक बुद्ध स्तुपा अगाडि यो कार्यक्रम गरेको बताए ।
‘नेपाल बुद्धको जन्मको देश, बुद्धले विश्वमा शान्तिको सन्देश दिने काम गरेकोले पनि स्वयम्भूकाे विश्व स्तुपा अगाडि यो कार्यक्रमको आयोजना गरेका हौँ’ अध्यक्ष श्रेष्ठले भने ।
अन्तर्राष्ट्रिय ओलम्पिक कमिटी (आइसिसी) को प्रस्तावमा संयुक्त राष्ट्र संघको आह्वानमा खेलको माध्यमबाट विकास र शान्तिको लागि खेलकुद भन्ने संकल्पसहित विश्वमै यो कार्यक्रम मनाउँदै आएको जानकारी पनि अध्यक्ष श्रेष्ठले दिए ।
कार्यक्रममा एनओसी परिवारका साथै राष्ट्रिय संघका अध्यक्ष तथा पदाधिकारी, खेलाडी, जनप्रतिनिधि, स्थानीय क्लब र जनसमुदायको उपस्थिति थियो ।