काठमाडौं । बन्दी सहायता नियोग (पाम) ले कम्युनिटी एन्ड स्पोर्टस सेन्टर पामको कम्युनिटी एन्ड स्पोर्टस सेन्टर सञ्चालनमा आएको छ ।
शनिबार सेन्टरको उद्घाटन नागर्जुन नगरपालिका वडा-१ का अध्यक्ष रामेश्वर लामा र पामका अध्यक्ष डा.रायणकाजी श्रेष्ठले संयुक्तरुपमा गरे ।
नागर्जुन नगरपालिका वडा-१ स्थित विजुलीचोक, एकलटारमा नवनिर्मित सेन्टरमा जुडो हल, जिम हल, पुस्तकालय, अध्ययन कक्ष, चेन्जिङ रुम, शौचालयलगायतका सुविधा छन् ।
जिएलएस फ्युचर फाउन्डेसन, जर्मनी, जुडोका विश्व च्याम्पियन डेनिस भान र नागर्जुन नगरपालिकाको सहयोगमा करिब १ करोड ७७ लाख लागतमा सेन्टर निर्माण गरिएको बताइएको छ ।
सन् २०२३ को मेमा सेन्टर निर्माणको कार्य सुरु गरिएको थियो । पामका जुडो प्रमुख प्रशिक्षक समेत रहेका कार्यकारी निर्देशक सूर्यनारायण श्रेष्ठले हल निर्माणसंगै खेलाडीलाई प्रशिक्षण गराउन धेरै सहज भएको बताउदै आगामी दिनमा राष्ट्रलाई पदक दिलाउने खेलाडी उत्पादनमा अझ सक्रिय रहने प्रतिबद्धता जनाए ।
जुडोमा पामका खेलाडीले उत्कृष्ट प्रदर्शन गर्दै आएका छन् । १२औं र १३औं दक्षिण एसियाली खेलकुद (साग) की रजत पदक जितेका मनिता श्रेष्ठ प्रधान पामकै उत्पादन हुन् । मनिताले ‘कन्टिनेन्टल क्वालिफिकेसन’ कोटामार्फत पेरिस ओलम्पिकमा नेपालको प्रतिनिधित्व गरेकी थिइन् ।
यसैगरी पामकै उत्पादन इन्द्रबहादुर श्रेष्ठ, देवकीमाया श्रेष्ठ र निशा श्रेष्ठ आ-आफ्नो तौलसमूहका वर्तमान राष्ट्रिय च्याम्पियन हुन् । इन्द्रले १२औं सागमा कांस्य र १३औं सागमा रजत पदक जितेका थिए ।
देवकीले बेल्ट एन्ड रोड अन्तर्राष्ट्रिय जुडोको कातमा स्वर्ण पदक जितेकी थिइन् । तीनै खेलाडीले एसियाली खेलकुदमा पनि सहभागिता जनाइसकेका छन् । विभिन्न अन्तर्राष्ट्रिय प्रतियोगितामा पामकै उत्पादन उत्तम प्रधानले कांस्य तथा सुवोध मण्डल र पेमा याङजी शेर्पाले स्वर्ण पदक जितेका छन् ।
विभिन्न कारणले कैदी जीवन बिताइरहेकाको सन्तानलाई आश्रय दिने उद्देश्यले सन् १९९१ मा पारिजात वाइबाले स्थापना गरेको पाममा हाल २८ जना बालवालिका आश्रित छन् । सबै जुडो खेल्छन् । उनीहरुका अलावा समुदायका ६२ बालवालिका पनि पाममै जुडोको प्रशिक्षण लिइरहेका छन् ।
सेन्टर उद्घाटनका अवसरमा मनिता र पामका अध्यक्ष श्रेष्ठलाई प्रशंसा पत्रसहित सम्मान गरिएको थियो ।