काठमाडौं । एसिया रग्बी सेभेन्स ट्रफीमा सहभागी हुने १७ देशको टुंगो लागेको छ ।
एसिया रग्बीको आयोजना र नेपाल रग्बी संघको व्यवस्थापनमा हुने प्रतियोगितामा पुरुषतर्फ १४ र महिलातर्फ ८ टोलीको सहभागिता रहेनछ ।
असोज १८ र १९ गते त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने प्रतियोगितामा पुरुषतर्फ नेपाल, फिलिपिन्स, बहराइन, काजकिस्तान, भारत, कतार, साउदी अरेबिया, अफगानिस्तान, श्रीलंका, चाइनिज ताइजेइ, उज्वेकिस्तान, जोर्डन, इरान र पाकिस्तानको सहभागिता रहनेछ ।
यसेगरी महिलातर्फ नेपाल, फिलिपिन्स, भारत, गुआम, श्रीलंका, इरान, उज्वेकिस्तान र इन्डोनेसियाबिच प्रतिस्पर्धा हुनेछ ।
प्रतियोगितालाई इमिरेट्सले मुख्य प्रायोजन गरेको छ । नेपालमा पहिलो पटक सिनियरस्तरको अन्तर्राष्ट्रिय रग्बी प्रतियोगिता हुन लागेको हो ।
यसअघि सन् २०२२ मा यु १८ र सन् २०२३ मा यु २० रग्बी दशरथ रंगशालामा नै आयोजना गरिएको थियो ।