काठमाडौं। युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीले खेलाडीलाई प्राथमिकतामा राखेर खेलकुद योजना बनाउनु पर्ने बताएका छन्।
राष्ट्रिय खेलकुद परिषद् (राखेप) उपाध्यक्ष शिव कोइरालाई बिदाइ गर्दै मन्त्री चौधरी खेलाडीको सुविधालाई पहिलो प्राथमितकतामा राख्नु पर्ने बताए ।
मन्त्री चौधरीले स्वास्थ्य तथा शिक्षामा सहुलियत दिन सकिने भन्दै यसका लागि खेलाडीको वर्गीकरण गरिने पनि उल्लेख गरे ।
बिदाइ कार्यक्रममा शिव कोइरालाले चार वर्षे कार्यकालम धेरै सिकेको भन्दै अझै यस क्षेत्रमा सुधार गर्नुपर्ने धरै विषय रहेको उल्लेख गरे।
कार्यक्रममा राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टंकलाल घिसिङले नेपाली खेलकुदको विकासका लागि सम्पूर्ण पक्षको एकता आवश्यक हुने बताए। खेलकुद विमालेख कार्यान्वयनमा ल्याइएको तथा कानुनी रूपमा नै खेलाडीको पुरस्कार सुनिश्चित गरिएको बताए ।
राखेपका सदस्यहरू, विभागीय प्रमुख तथा कर्मचारीहरूको उपस्थितिमा कोइरालालाई सम्मान पत्रसहित बिदाइ गरिएको थियो । कोइराला २०७७ साल साउन १२ गते परिषद्को उपाध्यक्ष पदमा नियुक्त भएका थिए।