जिम्न्यास्टिक कभर्डहललाई थिमीमा जग्गा

काठमाडौं, (खेलाडी)- जिम्न्यास्टिक खेलको कभर्डहललगायतका पूर्वाधार निर्माण गर्न भक्तपुर जिल्लाको मध्यपुर थिमी नगरपालिकाले जग्गा उपलब्ध गराएको छ । 

जिम्न्यास्टिक पूर्वाधार निर्माणका लागि जग्गा सम्बन्धी सम्झौता पत्रमा बिहीबार राष्‍ट्रिय खेलकुद परिषद (राखेप), नेपाल जिम्न्यास्टिक संघ र मध्यपुर थिमी नगरपालिकाबीच त्रिपक्षीय सम्झौता भएको छ । 

सम्झौतापत्रमा राखेपका तर्फबाट सदस्यसचिव रमेशकुमार सिलवाल, मध्यपुर थिमी नगरपालिकाका तर्फबाट मेयर मदनसुन्दर श्रेष्‍ठ र जिम्न्यास्टिक संघका तर्फबाट अध्यक्ष ध्रुवबहादुर प्रधानले हस्ताक्षर गरे । 

राखेपले जानकारी गराएअनुसार मध्यपुर थिमी नगरपालिका वडा ९ स्थित लुखापाटीमा ३ रोपनी ९ आना २ पैसा क्षेत्रफल भएको जग्गा नगरपालिकाले जिम्न्यास्टिक पूर्वाधार बनाउनका लागि उपलब्ध गराएको हो । 

राखेपलाई ५० वर्षका लागि लिजमा उपलब्ध गराइएको जग्गामा तीनै पक्ष मिलेर जिम्न्यास्टिकको कभर्डहललगायत आवश्यक पर्ने अन्य पूर्वाधार बनाउने सहमति भएको बताइएको छ । 

सम्झौता पत्र हस्ताक्षर कार्यक्रममा जिम्न्यास्टिक संघका सह अध्यक्ष किशोरबहादुर सिंह, महासचिव मुकुन्दराज शर्मा, सचिव वचन देउजा, राखेपअन्तर्गत कानून शाखाका प्रमुख नारायणराज अर्याल, नगरपालिका कर्मचारीलगायतको उपस्थिति थियो ।