संकटा नेक्सस फुटबल एकेडेमी सञ्‍चालनको सम्झौता

काठमाडौं, (खेलाडी)- नेपाली फुटबलको सर्वोच्च निकाय अखिल नेपाल फुटबल संघ (एन्फा), सहिद स्मारक ‘ए’ डिभिजन लिगको क्लब संकटा र नेक्सस स्कुलबीच फुटबल एकेडेमी सञ्‍चालन गर्नका लागि त्रिपक्षीय सम्झौता भएको छ । 

एन्फा मुख्यालय सातदोबाटोमा मंगलबार एक कार्यक्रमका बीच एन्फा उपाध्यक्ष तथा युवा विकास कमिटीका संयोजक उपेन्द्रमान सिंह, संकटा क्लबका कार्यवाहक अध्यक्ष सुरेन्द्र सिख्राकार र नेक्सस स्कुलका प्रधानअध्यापक आरबी कटुवालले सम्झौता पत्रमा हस्ताक्षर गरे ।

सम्झौता अनुसार पहिलो वर्ष सात जना संकटा र सात जना नेक्सस स्कुलका गरि कुल १४ खेलाडीले संकटा-नेक्सस युथ फुटबल एकेडेमीमा अभ्यास गर्नेछन् । अभ्यासको सम्पूर्ण व्यवस्था संकटा क्लबले गर्नेछ । ती खेलाडीहरुलाई नेक्सस स्कुलले छात्रवृती प्रदान गर्नेछ । सम्झौताको दोस्रो वर्षमा एकेडेमीमा संकटा क्लबका तर्फबाट १४ युवा खेलाडी सहभागी हुनेछन् ।

एएएफसीले क्लब लाइसेन्सिङका लागि युथ एकेडेमी अनिवार्य गरेको छ । हालसम्म त्रिभुवन आर्मी क्लब एएफसीको क्लब लाइसेन्स लिन सफल एकमात्र नेपाली क्लब हो । आर्मी, नेपाल पुलिस र एपिएफले मात्र युथ एकेडेमी सञ्‍चालन गर्दै आइरहेका छन् । सामुदायिक क्लबको हकमा भने एकेडेमी सञ्‍चालन गर्न लागेको संकटा नेपाली शीर्ष डिभिजनको पहिलो क्लब हो ।