राखेपलाई गोर्खा सेमिट्रिज ट्रस्टबाट भेन्टिलेटर प्रदान

काठमाडौं, (खेलाडी)- हङकङको गोर्खा सेमिट्रिज ट्रस्टले राष्‍ट्रिय खेलकुद परिषद् (राखेप)लाई पोर्टेवल भेन्टिलेटर सहयोग गरेको छ । 

ट्रस्टका तर्फबाट राखेप राष्‍ट्रिय टिम तयारीका निर्देशक महेन्द्र राई र अधिकृत भोजानन्द राईले शुक्रबार एक थान भेन्टिलेटर सदस्यसचिव रमेशकुमार सिलवाललाई हस्तान्तरण गरे । 

सदस्यसचिव सिलवालले उक्त भेन्टिलेटर राखेप स्वास्थ्य तथा अनुसन्धान केन्द्रका प्रमुख तीलक नेपालीलाई हस्तान्तरण गरे ।

कोभिड १९ को दोस्रो लहरका कारण नेपालीहरु प्रभावित भइरहेकोले ट्रस्ट र सामाजिक अभियन्ताद्वय युकेस राई र संजय राईको पहलमा हङकङ र विभिन्‍न देशमा बसोबास गर्ने नेपालीहरुबाट आर्थिक सहयोग जुटाएर देशका विभिन्‍न सामुदायिक अस्पतालका लागि सहयोग गर्ने उद्धेश्यले पचास थान पोर्टेबल भेन्टिलेटर उपलब्ध गराएका थिए । 

सोही क्रममा ट्रस्टले नेपाली खेलाडी, प्रशिक्षक, कर्मचारी र खेल क्षेत्र पनि त्यसबाट प्रभावित भएका कारण राखेप स्वास्थ्य तथा अनुसन्धान केन्द्रका लागि पनि एक थान भेन्टिलेटर सहयोग प्रदान गरेको हो ।