ओलम्पिकमा पदक जित्‍ने लक्ष्य हुनुपर्छ : उपराष्‍ट्रपति पुन

काठमाडौं, (खेलाडी)- उपराष्‍ट्रपति नन्दबहादुर पुनले ओलम्पिक खेलकुदमा नेपालले पदक जित्‍ने लक्ष्य लिनुपर्ने बताउँदै नेपाली खेल क्षेत्रलाई त्यहीअनुसारको योजना बनाउन निर्देशन दिएका छन् ।

ओलम्पिक दिवसको कार्यक्रममा मुख्य अतिथिका रुपमा बुधबार सातदोबाटोस्थित नेपाल ओलम्पिक कमिटीको मुख्यालय पुगेका उपराष्‍ट्रपति पुनले ओलम्पिकमा अहिलेसम्म नेपाली खेलाडीले गरेको प्रदर्शनको पनि समिक्षा गर्नुपर्ने विचार राखे । 

‘विश्‍व खेलकुद क्षेत्रका लागि यो महान दिन हो । ओलम्पिकको इतिहास भनेको समग्र मानव सभ्यताको उचाई पनि हो,’ कार्यक्रमलाई सम्बोधन गर्दै उपराष्‍ट्रपति पुनले भने ।

कार्यक्रममा उपराष्‍ट्रपति पुनले नेपालको तथा ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्‍ठले अन्तर्राष्‍ट्रिय ओलम्पिक कमिटी (आइओसी)को झण्डा झण्डोत्तोलन गरेका थिए । सोही अवसरमा मुकुन्द श्रेष्‍ठको नेतृत्वमा रहेको ओलम्पियन खेलाडीहरुको समूहले उपराष्‍ट्रपतिलाई ओलम्पिक टर्च हस्तान्तरण गरेका थिए ।