खेलाडी

काठमाडौं, (खेलाडी)- आधुनिक ओलम्पिक गतिविधीको सुरुआत भएको दिनको सम्झनामा अन्तर्राष्‍ट्रिय ओलम्पिक कमितिमा आवद्ध विश्‍वभरिका राष्‍ट्रहरुले मनाउने ओलम्पिक दिवस नेपालमा पनि विभिन्‍न कार्यक्रमका साथ पाँच दिनसम्म मनाइने भएको छ । 

नवनियुक्त युवा तथा खेलकुदमन्त्री एकबाल मियाँले शनिबार एक कार्यक्रमका बीच ओलम्पिक दिवसको उदघाटन गरे । नेपाल ओलम्पिक कमिटीको सातदोबाटोस्थित मुख्यालयमा भएको उदघाटन कार्यक्रममा कमिटीका अध्यक्ष जीवनराम श्रेष्‍ठले ओलम्पिकका झण्डोत्तोलन गरे । 

मन्त्री मियाँले नेपाली खेलकुदको विकासका लागि टिम भावनाका साथ अगाडी बढ्ने बताए । आफू राजनीतिज्ञ मात्र नभई विकास क्षेत्रबाट अगाडी आएकोले पहिले भन्दा अहिले अझै राम्रो गर्न कसरी सकिन्छ भन्‍नेमा दत्तचित्त भएर लाग्‍ने उनको भनाई थियो । नेपाली खेलकुद विकासको अभियानमा उनले सबैको साथ र सहयोगको अपेक्षा रहेको बताए । 

ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्‍ठले नेपालमा विभिन्‍न कार्यक्रमसहित ५ दिन ओलम्पिक दिवस मनाउने जानकारी गराए । उनले खेलाडी मात्र नभई सवैलाई समेटेर व्यापक रुपमा ओलम्पिक अभियान चलाउनुपर्नेमा जोड दिए । उनले ओलम्पिक दिवसलाई भब्यताका साथ मनाउने उद्धेश्य रहे पनि कोभिड १९ को महामारीका कारण खुम्चिनु परेको बताए ।

सो अवसरमा मन्त्री मियाँ र अध्यक्ष श्रेष्‍ठले मैत्रीपूर्ण टेबल टेनिस खेलेका थिए ।