ओलम्पिकका लागि जापानमा स्वास्थ्य संकटकाल हट्यो

टोकियो, (खेलाडी)- जापान सरकारले आगामी महिना हुने टोकियो ओलम्पिकलाई ध्यानमा राख्दै विगत लामो समय देखी जारी स्वास्थ संकटकाल हटाएको छ । तर संकटकाल हटाए पनि ल्याएको नयाँ नियमले भने प्रतियोगिता दौरान रंगशालामा सीमित दर्शकले मात्र प्रवेश अनुमती पाउने सम्भावना बढेको छ ।

जपानले कोभिड १९ को संक्रमण बढेसँगै अप्रिलबाट स्वास्थ्य संकटकालको घोषणा गरेको थियो ।

जपानका प्रधानमन्त्री योसिहिडे सुगाले जुन २० बाट राजधानी टोकियो लगायत अन्य ८ सहरमा लगाइएको संकटकाल अन्त्य भएको घोषणा गरे । यद्धपी ओकिनावामा भने संकटकाला जारी रहने छ ।

‘मेको मध्यबाट जापानमा कोभिड १९ संक्रमणको दर घट्दो क्रममा छ । अस्पतालहरुमा पनि विरामीको चाप घटेको छ,’ सुगाले भने ।

संकटकाल हटाइए पनि टोकियो लगायत अन्य ६ सहरमा जापान सरकारले आशिंक संकटकाल भने जुलाई ११ सम्मका लागि लागु गरेको छ ।

गत वर्ष नै आयोजना हुनुपर्ने भए पनि कोभिड १९ को विश्वव्यापी महमामारीका कारण टोेकियो ओलम्पिक २०२० एक वर्ष पछिका लागि धकेलिएको थियो । विश्व खेलकुदको सबभन्दा ठूलो खेल मेला सुरु हुन अब मात्र ५ साता बाँकी छ  । तर त्यसदौरान विभिन्न खेलका प्रतियोगिताहरुमा रंगशालाभित्र सीमित मात्रामा मात्र दर्शकलाई प्रवेशको अनुमती दिइने सम्भावना छ ।
जापान सरकारले यसअघि ओलम्पिक दौरान सबै खेल स्थलमा दर्शक क्षमताको ५० प्रतिशत मात्र दर्शकलाई प्रवेश अनुमती दिइने जनाएको थियो । तर अहिले सो संख्यामा हेरफेर गरिएर बढिमा १० हजार दर्शकमा सीमित पारिएको छ । 

टोकियो ओलम्पिकका लागि यसअघि नै विशेदी समर्थकमाथि प्रतिबन्ध लगाइएको छ । अब आयोजकको मुख्य चुनौती भनेको घरेलु समर्थकलाई कुन आधारमा मैदान प्रवेश अनुमती दिने भन्ने रहेको बताइएको छ ।

जपानमा गत महिना भएको एक सर्वेक्षणमा करिब ८० प्रतिशत जापानीहरुले ओलम्पिक स्थगित गर्नु पर्ने बताएका थिए । त्यस्तै चिकित्सकहले पनि ओलम्पिक आयोजना तत्काका लागि रोक्न आग्रह गरेका थिए । यद्धपी चिकित्सकहरुले भने अहिले पनि विना दर्शक खेलहरु सम्पन्न गर्न सुझाएका छन् । 

जापानमा हाल सम्म कोभिड १९ का कारण मुत्यु हुनेको संख्या १४ हजार रहेको छ । अहिले सम्म मात्र ६ प्रतिशत जापानी नागरिकले कोभिड १९ विरुद्धको खोप लगाएका छन् ।

टोकियो ओलम्पिकका आयोजकहरुले सीमित दर्शकलाई मात्र मैदान प्रवेशमा अनुमति दिइने भएकाले टिकट विक्रीमा समेत चिट्ठाको नियम लागुु गर्ने विकल्पको बारेमा छलफल भइरहेको बताएका छन् ।

ओलम्पिकका लागि गत वर्ष नै लाखौ टिकट अनलाइनमार्फत विक्री गरिए पनि कोभिड १९ महामारीका कारण गत वर्षलाई रद्द भएसँगै टिकट खरिदकर्ताको रकम फिर्ता दिने प्रक्रिया अहिले पनि जारी छ । 
साथै ओलम्पिक सुरु हुनुअघि सहभागी सबै खेलाडी, प्रशिक्षक, व्यवस्थापन टिम, प्राविधिक टोली, सुरक्षाकर्मी र स्वयमसेवकलाई कोभिड १९ विरुद्धको खोप लगाइने पनि आयोजकले जनाएको छ ।