‘एन्फा नेतृत्व असफल भइसक्यो, योभन्दा पुरानै ठिक’

पंकजविक्रम नेम्वाङ अखिल नेपाल फुटबल संघ (एन्फा) का वरिष्ठ उपाध्यक्ष हुन् । तीन वर्षअघि भएको निर्वाचनमा ‘चेन्ज एन्फा’को नारा घन्काउँदै कर्माछिरिङ शेर्पाको नेतृत्वले क्लिन स्विप गर्दा नेम्वाङ नेपाली फुटबलको सर्वोच्च निकायमा दोस्रो बरीयतामा निर्वाचित भएका थिए ।

चार उपाध्यक्षमध्ये सबैभन्दा बढी मत ल्याएका उनलाई पछि एन्फा कार्यसमितिले वरिष्ठ उपाध्यक्षको जिम्मेवारी दिएको थियो । चुनावअगाडि झन्डै ६ वर्ष शेर्पा नेतृत्वको ‘चेन्ज एन्फा अभियान’मा उनी उपकप्तानको भूमिकामा थिए । त्यो अभियानका सबै अभियन्ता एन्फामा पुगेपछि भने नेम्वाङ र शेर्पाबीच सम्बन्ध चिसिएको छ । आगामी वैशाखमा हुने निर्वाचनमा शेर्पा र नेम्वाङ अध्यक्ष पदका प्रत्याशी हुने मानिएको छ ।

हालैमात्र नेम्वाङ अर्को एउटा विवादमा मुछिएका छन् । राष्ट्रिय टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले वरिष्ठ उपाध्यक्षका कारण आफू राजीनामा गर्न लागेको भन्दै गरेको एक ट्विटले फुटबलमा ठूलै तरंग ल्याएको छ । यसको छानबिन गर्न समिति बनेको छ । केही दिनमा त्यसको प्रतिवेदन सार्वजनिक हुने अपेक्षा गरिएको छ । यिनै विषयमा खेलाडी डटकमले उपाध्यक्ष नेम्वाङसँग गरेको कुराकानीको सम्पादित अंश:

एन्फामा एक वर्षअगाडि नै चुनाव त मज्जाले लाग्यो है ?

लाग्नेलाई हामी निर्वाचित भएको केही समयदेखि नै लागिरहेको छ । हामीले आफै घोषणा गरेका कार्यक्रम र उद्देश्यमा केन्द्रित भएर काम गरेनौं, आउने चुनाव केन्द्रित भएर काम गरेपछि मान्नुपर्यो नि त १ त्यही रहेछ भनेर । 

तपाईंलाई चाहिँ लागेको छैन त चुनाव ?

चुनावभन्दा पनि यो कार्यकालमा अध्यक्षज्यूलाई राम्रो विधिसम्मत कुरामा डोर्‍याउने कुरामा हामी लागिरहेका छौं । हामीले चुनावअघि ‘चेन्ज एन्फा’ भनेका थियौं । अहिले त्यही कुरालाई कार्यान्वयनमा लानुपर्छ भनेर लागिरहेका छौं ।

तपाईंलाई अध्यक्षको प्रत्याशीका रूपमा हेरिएको छ । तर तपाईं आफूलाई चुनाव लागेको छैन भन्दै हुनुहुन्छ । कुरा त मिलेन नि ?

चुनाव लागेको छैनभन्दा पनि आगामी वैशाखमा हुने निर्वाचनका लागि म साथीभाइसँग सरसल्लाहमै छु । 

तपाईं अध्यक्षको उम्मेदवार, तर आफ्नै एक कर्मचारी प्रशिक्षकसँग झगडा गरेर बस्नुभएको छ । यसले तपाईंकै कद घटाएन र ?

मैले त झगडा गरेको छैन । यसलाई मैले सुरुदेखि नै भनेको छु कि यो आगामी वैशाखमा हुने एन्फा निर्वाचन केन्द्रित ममाथिको सुनियोजित षड्यन्त्र हो ।

कसले गर्‍यो होला षड्यन्त्र ?

यसका पछाडि केही एन्फाकै साथीहरू हुनुहुन्छ, त्यो समयले उजागर गर्दै जानेछ ।

तपाईंलाई शंका लागेका मानिसहरूको नाम लिन मिल्छ कि ?

शंका गर्ने ठाउँ त उहाँहरूले नै दिनुभएको छ । जब मुख्य प्रशिक्षकजीको स्टाटस आयो । त्यो दिन हामी क्लबहरूसँगको एउटा छलफलमा थियौं । अध्यक्षज्यू पोखरा जाने भन्दै हुनुहुन्थ्यो । मैले यो कुरा मिलाएर मात्र जानुस भनें ।

यो जे भयो राम्रो भएन । किन मुख्य प्रशिक्षकले अनुशासन तोडेर लेख्यो ? यो मिलाएर जानुस भनें । त्यसपछि तत्कालीन प्रवक्ता किरण राईजी र अध्यक्षज्यू गोप्य कोठामा बस्नुभयो । मुख्य प्रशिक्षकलाई होटलमा ‘आराम’ गर्न पठाइयो । अध्यक्षज्यू पोखरा जानुभयो, दुई दिनपछि आउनुभयो । 

१३ गते हामीले १५ गते बैठक बोलाउने भनेर छलफल गर्‍यौं । उहाँ (अध्यक्ष) ले यो दुई दिनमा प्रयास गर्छु भन्नुभयो । उहाँले प्रयास पनि गर्नुभयो होला । हामीले बैठकबाट समाधान खोजौं भन्यौं, निर्णय गरौं भन्यौं । त्यो पनि भएन । कार्यसमिति बैठकमा मुख्य प्रशिक्षकजी पनि आउनुभयो । उहाँ रिसाएर बैठकबाट उठ्नुभयो । बैठक भाँडियो ।

हाम्रो चाहना यो संस्थाको कुरा हो, संस्थाबाटै यसको समाधान खोजिनुपर्छ भन्ने थियो । संस्थाभित्रको कुरा आफैंले नमिलाएर राष्ट्रिय खेलकुद परिषद र खेलकुद मन्त्रालयलाई आमन्त्रण गरेको विषयलाई लिएर किरणजीले प्रवक्ताबाट पनि राजीनामा दिनुभयो ।

एकप्रकारले हामीबीच के समझदारी भएको थियो भने सके अध्यक्षज्यू बस्ने थियो । उहाँले मान्नुभएन । त्यसपछि बाहिरबाट एकजना पूर्वखेलाडी या वरिष्ठ वकिल कोही राखेर उपाध्यक्ष र महासचिवजी बसेर छानबिन समिति एन्फाले बनाउने भन्ने सहमति भएको थियो । तर प्रशिक्षकको मागचाहिँ सरकारी निकायबाट छानबिन हुनुपर्छ भन्ने रहेछ । त्यहीअनुसार अध्यक्षज्यूले गर्नुभयो । यति भएपछि नाम मैले भनिरहनुपर्ला र ?

तपाईंहरूले नै छानबिनका लागि राखेप वा मन्त्रालय जानुपर्छ भनेर भन्नुभयो रे १ पछि फेरि त्यसैको विरोध गर्नुभयो । खास कुरा के हो ?

हाम्रो माग एन्फाबाटै हुनुपर्छ भन्ने थियो । मेरो कुरा त आइतबार यो घटना भएकै दिन मिलाउनुपर्छ भन्ने थियो । प्रवक्ता र महासचिवलाई जिम्मा दिएर अध्यक्षज्यू पोखरा जानुभएको रहेछ । उहाँहरूले प्रयास गर्नुभयो, सक्नुभएन । अध्यक्ष आएपछि उहाँले मिलाउनुहुन्छ भन्ने हामीलाई विश्वास थियो । त्यो भएन । बैठकअघि मिल्छ कि भन्ने थियो, त्यो पनि भएन । बैठकमा मिल्छ कि भन्ने थियो, त्यो नि भएन । सहमति गर्न मन्त्रालय या परिषदलाई दिनेभन्दा पनि हामीबाटै यसको समस्या समाधान हुनुपर्छ भन्नेमा जोड थियो ।

‘चेन्ज एन्फा’ भनेर त्यत्रो अभियान चलाउनुभयो । आखिर के चेन्ज भयो त एन्फामा ?

अहिलेका अध्यक्ष उपाध्यक्ष हुनुहुन्थ्यो । उहाँ अध्यक्ष हुनुभयो । म सदस्य थिएँ, उपाध्यक्ष भएँ । 

भनेपछि तपाईंहरूले पद पाउनेबाहेक केही भएन त ?

हो, खासमा केही भएन । तर सामान्य रूपमा केही भएका छन् । हामीले विभागहरू बनाइरहेका छौं । ग्रासरुटका कार्यक्रम राम्रो गरेका छौं । प्रशिक्षक प्रशिक्षणको कामहरू राम्रो गरेका छौं । रेफ्रीको प्रशिक्षणहरू हामीले राम्रो गरेका छौं । 

तपाईंकै दबाबमा रोशन नेपाललाई निकालेर आफ्नो छोरालाई यू–१६ टिममा समावेश गरी जोर्डन पठाइएको होइन र ? तपाईंले चाहेको चेन्ज एन्फामा यही थियो ।

म यो प्राविधिक पक्षमा जिरो छु । त्यतापट्टि मेरो कुनै पनि हस्तक्षेप हुँदैन । रोशन नेपाल भन्ने बाबुलाई चाहिँ निकालेर मेरो छोरा राखियो भन्ने आरोप एकदम मिथ्या आरोप हो । मैले भनें नि चुनाव अगाडिदेखि नै लागेको छ भनेर । यो पनि त्यसैको एउटा उदाहरण हो । त्यही बेलादेखि मलाई बदनाम गराउने एउटा षड्यन्त्र हो ।

यो कुरामा म अहिले पनि भन्छु कि त्यो बेलाका प्रशिक्षकहरू र टिम व्यवस्थापकलाई मैले मेरो छोरा हाल्नुपर्छ भनेर एक शब्दमात्र भनेको छु भने अहिले छानबिन गरे हुन्छ । प्रमाणित भयो भने तत्काल राजीनामा दिन तयार छु । 

तपाईंको छोरा त्यो बेला यू–१६ को राष्ट्रिय टिममा परेका थिए । अहिले १८ वर्षको हुँदा त व्यावसायिक फुटबलमा हुनुपर्ने, खोइ त कतैबाट खेलेको देखिँदैन ?

अहिले कोभिडले गर्दा उसले खेलेको छैन । फुटसल खेल्दा उसको बुढी औंलामा समस्या आएको थियो । उपचार चलिरहेको छ । त्यो काण्डदेखि उसलाई पनि फुटबलप्रति पहिलाजस्तो मोह छैन । मेरो छोरा भएको कारण उसले ठूलो अन्याय भोग्नुपर्‍यो । 

त्यो बेला यू–१६ को गोलकिपर प्रशिक्षक विनोद डंगोल हुनुहुन्थ्यो । उहाँले मलाई पात्थुङलाई पठाइदिनुस, जोर्डन जाने टिमको छनोट छ भन्नुभयो । मैले त बोलाउँदिन भाइ, यो मेरो काम होइन । आवश्यक भए तपार्इं आफैं बोलाउनुस् भनें । त्यसपछि म घर पुग्दा छोरालाई फोन आइसकेको रहेछ । उसले मलाई यस्तो फोन आयो भन्यो, त्यसपछि मैले उसो भए जाऊ न त भनें । प्रशिक्षकले खेलाडीलाई बोलाएर ऊ सेलेक्सनमा परेको हो । त्यो पनि कसरी भने त्यतिखेर उमेर समूहमा एमआरआई गरेर लैजाने चलन थियो ।

पहिलो रोजाइका गोलकिपर एमआरआईमा फेल भयो भन्ने सुनें मैले । अर्को एकजना बाग्लुङ कि कहाँको बाबुलाई पनि बोलाइएको थियो भन्ने सुनें । त्यो बाबु पनि आएन । पात्थुङ गयो । चारजना गोलकिपर भयो । चार जनामा एकजना एमआरआईमा फेल भएर परेको हो । पछि मैले बुझेअनुसार रोशन नेपाल भन्ने बाबु क्लोज क्याम्पमै थिएनन् । अनि यसरी षडयन्त्रपूर्ण ढंगले मलाई बदनाम गर्न रचिएको एउटा कथामात्र हो ।

गणेश थापा विरोधीहरू एक ठाँउमा बसेर चेन्ज एन्फाको नाममा अभियान चलाउनुभयो । एक वर्ष नपुग्दै छिन्नभिन्न हुनुभयो । फेरि कर्माछिरिङ शेर्पाविरुद्ध त्यसरी नै जेहाद छेड्नुभएको देखिन्छ । यसरी त एन्फामा सधैँ किचलोमात्र हुने भयो नि ?

हामी आफूलाई नेपाली फुटबलको इमान्दार सिपाही ठान्छौं । जसले विसंगति र विकृतिविरुद्ध आवाज उठाइरहनुपर्छ । त्यो काम हामीले गरिरहेका छौं । हिजो पनि गरेका थियौं, आज पनि गरिरहेका छौं र भोली पनि यस्तै विकृति विसंगति हुन थाल्यो भने हाम्रो आवाज नेपाली फुटबलको पक्षमा राख्छौं । यो व्यक्तिगत रूपमा कर्माजीविरुद्धको आवाज होइन । हिजोका दिनमा हामीले भनेका थियौं पारदर्शिता, सामूहिक नेतृत्व र एकता हुनुपर्छ ।

अधिकार र बजेटको विकेन्द्रीकरण हुनुपर्छ भनेर आवाज उठाएका थियौं । तर हामी आएपछि यी कुराहरू भएका छैनन् । म वरिष्ठ उपाध्यक्ष भएपछि दुईचार महिना सरसल्लाह भयो, त्यसपछि छैन । केही थाहा हुन्न । एउटा सानो उदाहरण दिउँ, अहिले मुख्य प्रशिक्षक आउनुभएको छ । उहाँको नियुक्तिको विषयमा कार्यसमितिले निर्णय गर्नुपर्छ । कार्यसमितिमा कुरै भएको छैन । म्याद थप्ने निर्णय कार्यसमितिले गर्नुपर्छ, तर कार्यसमितिले त्यस्तो निर्णय गरेकै छैन । अस्ति भर्खर रेफ्री डाइरेक्टर नियुक्त गरिएको छ । तर त्यो पनि कार्यसमितिलाई छलेर व्यक्तिगत रूपमा ल्याइएको छ । 

‘अर्ली इलेक्सन’ को कुरा आएको छ । अब तपाईंहरूलाई एन्फा नेतृत्व हत्याउन सक्छु भन्ने लागेको हो ?

यो तत्कालीन प्रवक्ता किरण राईजीले राख्नुभएको व्यक्तिगत विचार हो । मलाई चाहिँ वैशाखमै निर्वाचन हुन्छ भन्ने विश्वास छ । 

तपाईंको फुटबल राजनीतिमा सक्रियता चुलिनु र यो ध्रुवीकरण हुनुमा ‘चेन्ज एन्फा’ अभियानका एक अभियन्ता नवीन पाँडेको ग्रान्ड डिजाइन हो भन्ने आरोप छ नि, सत्य के हो ?

नवीनजीको विषयमा मलाई जोडेर अहिले थुप्रै आरोप लगाइने गरिएको छ । नवीन पाँडेजी पहिला हिमालयन शेर्पा क्लबका उपाध्यक्ष र टिम म्यानेजर हुनुहुन्थ्यो । उहाँसँग कर्माछिरिङ शेर्पाजीले नै हामीलाई चिनजान गराइदिनुभएको हो । नवीनजी राम्रो हुनुहुन्छ, नेपाली फुटबलको सहयोगी हुनुहुन्छ भनेर अध्यक्षज्यूले थुप्रै राम्रा कुराको पुल बाँधेर मसँग चिनजान गराउनुभएको हो ।

त्यो समयमा नवीनजीले हामीले गर्न नसक्ने कामहरू पनि गर्नुभएको हो । आन्दोलनताका हामी आन्दोलनकारीको पक्षमा कर्माजीलाई पनि त कताकता लगेर को–को मानिससँग भेटाउनुभएको छ । विदेशै लगेर भेटाउनुभएको छ । 

हामीले गलत मान्छे चुनेछौं । हामीले मान्छे चिन्न सकेनौं भनेर नवीनजीले फेरि चेन्ज एन्फा अभियानलाई अलग ढंगले अगाडि बढाउनुपर्छ भन्ने कुरा राख्दै आउनुभएको छ । अब उहाँ विरोधी हुनुभयो । ग्रान्ड डिजाइन गर्नुभयो भन्न थालियो । पहिला कर्माजीलाई सहयोग गर्दा उहाँ ठिक ? अहिले उहाँ नेपाली फुटबलकै पक्षमा बोलिरहनुभएको छ किन बेठिक त ?

तपाईंहरूले सारा बेथितिको कुरा गर्नुभयो । एन्फामा यति धेरै बेथिति रहेछ । तर कर्माछिरिङ शेर्पाको नेतृत्वमा यो एन्फा बनाउने काम पनि आफैंले गर्नुभयो भने त्यसको जिम्मा तपाईंले लिनुपर्दैन ?

जिम्मा लिनुपर्छ । तर जो कार्यकारी पदमा छ, उसको मात्र कुरा बिक्ने रहेछ । हामी त कार्यकारी पदमा छैनौं । हाम्रो कुरा कार्यकारी पदमा हुनेले सुन्नुपर्ने हो तर हामीले निरन्तर कुरा राख्दा पनि सुनुवाइ भएन । आफैंले स्थापित गरेको नेतृत्वले हाम्रो कुरा सुनेन । यसमा गलत नेतृत्व स्थापित गरेकामा गल्ती हाम्रो हो । यो हामीले स्वीकार्नुपर्छ । उहाँले नेतृत्वदायी भूमिका निर्वाह गर्न सक्नुभएन । उहाँ असफल हुनुभयो । आफ्नो नेतृत्वलाई सही बाटोमा डोर्‍याउन नसकेकामा हामी क्षमा माग्छौं । हामी नेतृत्वलाई सही बाटोमा डोर्‍याउन अझै प्रयत्न गरिरहेका छौं, गरिरहन्छौं ।

चुनाव जित्नका लागि अहिले तपाईं पहिला आफैंले चर्को स्वरमा विरोध गरेका पूर्वअध्यक्ष गणेश थापाको शरणमा पुग्नुभएको चर्चा छ, कुरो के हो ?

यो त्यही षड्यन्त्रमाथिको षड्यन्त्र हो । नेपाली फुटबलमा को–को व्यक्तित्वको कस्तो भूमिका रहन्छ भन्ने सबैलाई प्रस्ट थाहा छ । नेपाली फुटबलमा २२ वर्ष अध्यक्ष रहँदा उहाँका साथीहरू, उहाँलाई मनपराउनेहरू अहिले पनि सक्रिय भूमिकामा छन् । अब कसलाई सहयोग गर्ने, कसलाई नगर्ने भन्ने उहाँको विषय हो । तर शरणमा गएको भन्ने जुन आरोप लगाइ“दै छ, त्यो निराधार आरोप हो । 

तपाईंहरूको साठगाँठ त होला नि ?

केही साठगाँठ छैन, भेटघाट पनि भएको छैन । तर हामीले सुनेका छौं, को–को व्यक्तिहरूले गणेश थापासँग सम्पर्क बढाउनुभएको छ । के–के प्रस्ताव लिएर गएका छन् भन्ने हामीले सुनेका छौं । मलाईमात्र यो आरोप लाग्नुपर्ने ? कर्माजीको मान्छेहरू पुगेका छैनन् ? पुगेका छन् । विभिन्न प्रस्ताव गरेका छन् । यो सबै सूचना हामीसँग पनि छ । उहाँले गणेश थापाजीकै महासचिव धिरेन्द्र प्रधानलाई भेन्यु म्यानेजर बनाएर ल्याउनुभयो । थापाजीका टिमका कति साथीहरू अहिले समितिमा ल्याउनुभएको छ । 

तपाईं र कर्माजी पनि गणेश थापाकै टिमका मानिस होइन र ?

हो, पहिला हामी उहाँकै टिमका मानिस हौं । तर मैले कुरा गरेको चाहिँ गएको चुनावमा प्रस्टसँग कित्ताका“ट भएका मानिसहरूको हो । पहिला त थापाजी अध्यक्ष हुनुहुन्थ्यो, कर्माजी उपाध्यक्ष हुनुहुन्थ्यो, म सदस्य थिएँ । हामीले लामो समय गणेश थापाजीसँग काम गरेका हौं ।

तपाईंले एन्फा कार्यसमितिमा तीनजना अध्यक्षको नेतृत्वमा काम गर्नुभयो । को सबैभन्दा ठिक र को बेठिक लाग्यो त ?

सबैभन्दा लामो समय गणेश दाइले काम गर्नुभयो । छोटो समय नरेन्द्र (श्रेष्ठ) दाइले काम गर्नुभयो । अहिले साढे तीन वर्ष हुँदै छ, कर्माजीले काम गर्नुभएको । तर अहिलेको यो पछिल्लो घटनाक्रममा जुन निर्णय भयो नि । यसैलाई हेरौं न, सबै प्रस्ट भइहाल्छ । मैले भन्नै पर्दैन । एन्फाका वरिष्ठ उपाध्यक्षको नामै लेखेर प्रशिक्षकले सामाजिक सन्जालमा राख्दा पनि अध्यक्षज्यू मूकदर्शक हुनुहुन्छ । नरेन्द्र दाइको कालमा, गणेश दाइको कालमा यस्तो कुरा कहिल्यै भएको थिएन । संस्थाको गरिमा र अनुशासन त्यतिखेर थियो । 

अहिले संस्थाको गरिमा हामीले राख्न सक्यौं त ? त्यतिखेर नै त्यो स्टाटस डिलिट गर्न लगाउनुपर्ने थियो । अध्यक्षज्यूले त्यो पनि गर्न लगाउनुभएन । मैले कुनचाहिँ पत्रकारको स्टाटसमा लाइक गरें भनेर संस्थाका वरिष्ठ उपाध्यक्षप्रति लाञ्छना लगाएर लेख्न मिल्छ ? अनुशासन तोड्दा समेत नेतृत्व चुप लागेर बस्ने ? निरीह बन्ने ? नेतृत्व त असफल भइसक्यो । हामीले निर्णय गर्नसक्ने कुरा मन्त्रालयतिर ठेल्नु भनेको असफल भएका हौं हामी ।

नेपाली फुटबल समर्थक र अन्य सरोकारवालालाई केही भन्न चाहनुहुन्छ ?

म मुख्य प्रशिक्षकजीले जुन स्टाटस लेख्नुभयो । त्यसले मेरो व्यक्तिगत, सामाजिक जीवनमा मात्र नभई मेरो परिवार, शुभचिन्तक र आफन्तप्रति जुन आघात पुग्यो, त्यो एकदमै अपूरणीय क्षति हो । मलाई ज्यान मार्नेसम्मको धम्की आयो । यो चाहिँ नेपाली फुटबलप्रति समर्थकको माया भनेर म बुझ्छु । 

तर जसरी कुराहरू आए, सामाजिक सञ्जालमा कमेन्टहरू आए, ती बुझेर गरिदिनुस् । म नेपाली फुटबलमा तीसौं वर्ष काम गरेको व्यक्ति हुँ । म नेपाली फुटबलको रौंबराबर पनि नराम्रो चाहन्न । जहिल्यै पनि नेपाली फुटबलका लागि इमान्दार भएर काम गरेको व्यक्ति हुँ म ।

मुख्य प्रशिक्षक पनि नेपाली फुटबलकै निम्ति आउनुभएको हो । नेपाली फुटबलकै लागि काम गरिरहनुभएको छ । जोख्ने हो भने नेपाली फुटबलप्रति माया, लगाव र यतिका वर्षको समर्पण र योगदान मेरोचाहिँ कम हुँदैन है । प्रशिक्षकजीलाई मैले तीन हप्ता होइन । उहाँ आएदेखि कुनै अवरोध खडा गरेको छैन, थिइनँ र गर्ने पनि छैन । 

तर कसैले बिनाआधार आरोप लगाउँदैमा कसैलाई गलत गर्‍यो भनेर तत्कालै ठम्याउनु चाहिँ गलत बुझाइ हो । यस्तो गर्नु हुँदैन । एकैचोटि त्यो शैलीमा कसैलाई पनि गालीगलौज नगरिदिनुस् भनेर आह्वान गर्न चाहन्छु । 

अन्त्यमा, एन्फामा आबद्ध सम्पूर्ण क्लब, जिल्ला, कार्यसमिति र सबै सरोकारवालालाई के भन्छु भने नेपाली फुटबलमा हामी केन्द्रमा बस्ने पदाधिकारीहरूले एकदमै व्यक्तिगत रूपमा उत्रिएर यो घृणित राजनीति खेल्नुहुँदैन । सबैले यसमा सूक्ष्म ढंगले हेरिरहनुभएको छ भन्ने मैले बुझेको छु ।

यसले नेपाली फुटबललाई राम्रो गर्दैन । तपाईं हाम्रो नराम्रो हुँदा केही हुँदैन, तर नेपाली फुटबल राम्रो हुनुपर्छ । नेपाली फुटबल बिग्रिनु हुँदैन भन्ने मान्यता राख्छु । र त्यहीअनुसार आफूलाई नेपाली फुटबलको इमान्दार सिपाहीका रूपमा काम गरिरहन्छु भन्न चाहन्छु । अनि उच्चस्तरीय छानबिन समितिले मुख्य प्रशिक्षक र मेरो विषयमा भएको कुराहरूको छानबिन टुंग्याइसकेको छ भन्ने मलाई लाग्छ । अब यो चाँडै सार्वजनिक हुन्छ भन्ने आशा र विश्वास लिएको छु ।