काठमाडौं । एन्फा राष्ट्रिय लिगमा सोमबार तीन विभागीय टोली (त्रिभुवन आर्मी एफसी, नेपाल पुलिस क्लब र एपिएफ एफसी) मैदानमा उत्रिएका थिए । जसमध्ये आर्मीले मात्र तीन अंक बटुल्यो ।
दिनको तेस्रो तथा अन्तिम खेलमा आर्मीले पुलिसको चुनौती ४-१ ले पन्छायो । आर्मीलाई सहज जित दिलाउन निराजन धामीले दुई तथा पेम्बा डोर्जे लामा र किरण सुनारले समान एक गोल गरे । एक गोलले पछाडि परेको अवस्थामा पुलिसका लागि दशरथ गिरीले बराबरी गरेका थिए ।
जितसँगै आर्मी ९ खेलमा २० अंक जोड्दै अंकतालिकाको दोस्रो स्थानमा उक्लियो । नेपाल पुलिस समान खेलमा ८ अंक जोड्दै १३औं स्थानमा छ ।
त्यसअघि दिउँसो २ बजे सम्पन्न दोस्रो खेलमा अग्रता जोगाउन नसक्दा शीर्ष स्थानको एपिएफ एफसीले प्लानिङ ब्वाइज युनाइटेडसँग अंक बाँड्यो । पहिलो हाफमा कप्तान युवराज खड्काको गोलमार्फत एपिएफले अग्रता बनाएको थियो । दोस्रो हाफमा एलेक्स विलेनले बराबरी गोल फर्काए ।

बराबरीले एपिएफले शीर्ष स्थानमा अंक दूरी बढाउने अवसर गुमायो । अहिले ९ खेलमा एपिएफको २१ अंक छ । एपिएफलाई हराएको भए प्लानिङलाई शीर्ष स्थानमा उक्लिने अवसर थियो । एक खेल बढी खेलेको प्लानिङ १९ अंकका साथ चौथो स्थानमा छ ।
त्यस्तै बिहान १० बजे फ्रेन्ड्सले श्री भगवती क्लबलाई २-० ले हरायो । फ्रेन्ड्सका लागि मिडफिल्डर प्रशान्त लक्समले गोल गरे । एक गोल फ्रेन्ड्सले आत्मघाती उपहार प्राप्त गर्यो । निर्धारित समयको अन्तिम मिनेटमा बिवश चौधरीले आफ्नै पोस्टमा गोल गर्न पुगेका थिए ।
फ्रेन्ड्सले आफ्नो पहिलो खेलमा काँक्रे बिहार क्लबसँग ३-१ को पुनरागमन जित हासिल गरेको थियो । त्यसयता ७ खेलमा फ्रेन्ड्सले जित निकाल्न सकेको थिएन । जितसँगै ९ खेलमा ९ अंक जोड्दै फ्रेन्ड्स १०औं स्थानमा उक्लियो ।
भगवतीले पछिल्लो खेलमा काँक्रे बिहारलाई नै ६-० ले हराएको थियो । तर, ६ दिनको ब्रेकपछि सोही लयलाई भगवतीले कायम राख्न सकेन । समान खेलमा ८ अंक जोडेको भगवती १३औं स्थानमा झरेको छ ।

सोमबार सम्पन्न तीनवटै खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएका थिए । मंगलबार दशरथ रंगशालामा कुनै पनि खेल हुनेछैनन् । दुबै खेल सातदोबाटोस्थित एन्फा मुख्यालय मैदानमा हुनेछन् ।
बिहान १२ः१५ बजे मनाङ मर्स्याङ्दी क्लबले चित्लाङ एफसीको सामना गर्नेछ । दिउँसो ४ बजे हुने दोस्रो खेलमा नव जन जागृति क्लबले मछिन्द्र क्लबसँग प्रतिस्पर्धा गर्नेछ ।
