काठमाडौं । एन्फा राष्ट्रिय लिगमा फ्रेन्ड्स क्लबले सात खेलपछि जित हासिल गरेको छ ।
सोमबार बिहान १० बजे त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सम्पन्न दिनको पहिलो खेलमा फ्रेन्ड्सले श्री भगवती क्लबलाई २–० ले हरायो । फ्रेन्ड्सका लागि मिडफिल्डर प्रशान्त लक्समले गोल गरे । एक गोल फ्रेन्ड्सले आत्मघाती उपहार प्राप्त गर्यो । निर्धारित समयको अन्तिम मिनेटमा बिवश चौधरीले आफ्नै पोस्टमा गोल गर्न पुगेका थिए ।
फ्रेन्ड्सले आफ्नो पहिलो खेलमा काँक्रे बिहार क्लबसँग ३–१ को पुनरागमन जित हासिल गरेको थियो । त्यसयता ७ खेलमा फ्रेन्ड्सले जित निकाल्न सकेको थिएन । जितसँगै ९ खेलमा ९ अंक जोड्दै फ्रेन्ड्स १०औं स्थानमा उक्लिएको छ ।
भगवतीले पछिल्लो खेलमा काँक्रे बिहारलाई नै ६–० ले हराएको थियो । तर, ६ दिनको ब्रेकपछि सोही लयलाई भगवतीले कायम राख्न सकेन । समान खेलमा ८ अंक जोडेको भगवती १३औं स्थानमा झरेको छ ।
दिउँसो २ बजे हुने दिनको दोस्रो खेलमा २० अंकसहित शीर्ष स्थानको एपिएफ एफसीले प्लानिङ ब्वाइज युनाइटेडको सामना गर्नेछ । प्लानिङलाई हराए एपिएफले शीर्ष स्थानमा चार अंकको अग्रता लिनेछ । उता एपिएफलाई हराए हाल १८ अंकसहित पाँचौं स्थानमा रहेको प्लानिङ शीर्ष स्थानमा उक्लिनेछ ।
तेस्रो खेल साँझ ६ बजे हुनेछ । जहाँ नेपाल पुलिस क्लबको भेट विभागीय प्रतिद्धन्द्धी त्रिभुवन आर्मी क्लबसँग हुनेछ । जितले आर्मीलाई दोस्रो स्थानमा पुर्याउनेछ । अहिले १७ अंकका साथ आर्मी सातौं स्थानमा छ । पुलिस ८ अंकका साथ ११औं स्थानमा छ । आर्मीलाई हराए पुलिसले तीन स्थान सुधार गर्नेछ ।
बाँकी दुई खेल पनि दशरथ रंगशालामै हुनेछन् ।
