काठमाडौं । नेपाली महिला राष्ट्रिय टोलीकी स्ट्राइकर रेखा पौडेल निक्कै आक्रामक छिन् । स्ट्राइकरको स्वभाव नै हो आक्रामक हुनु । स्ट्राइकरको काम गोल गर्नु हो । त्यसका लागि आक्रामक हुनै पर्छ । तर आक्रामक मानिसहरु स्वभाविक रुपमै भावुक पनि हुन्छन् । नेपाल पुलिसकी यी स्टार पनि जति आक्रामक छिन्, उत्तिकै भावुक छिन् ।
राष्ट्रिय टिममा उनकी सहयात्री सावित्रा भण्डारी अचेल घाइते छिन् । लामो समय भयो, उनको घुँडाको जोर्नीमा गम्भीर चोट लागेको । त्यही चोटका कारण इजरायल र फ्रान्स जस्ता देशमा व्यावसायिक फुटबल खेलिसकेपछि हाल न्युजिल्यान्डको वेलिङटन फिनिक्सबाट खेलिरहेकी सावित्रा मैदानबाहिर भएको ७ हप्ता भइसक्यो । उपचारमा उनको क्लब वेलिङटन र एन्फाको बाटो अनि उनको आफ्नै इच्छामा तालमेल नमिल्दा सावित्राको अवस्था अलपत्र छ ।
नेपाली राष्ट्रिय टिमकी कप्तान समेत रहेकी गोलमसिन सावित्राको यो अवस्था यतिसम्म निराशाजनक रहयो की, उनले यसलाई जीवनकै सबभन्दा कठिन संघर्ष मानेकी छिन् । उनलाई लाग्यो, ‘दक्षिण एसियाकै सबभन्दा चम्किलो ताराका रुपमा उदीयमान करियरमा फेरि कहिल्यै चम्किन कसक्ने गरि ग्रहण लाग्ने भयो ।’
यही निराशाका बीच सावित्राले सोमबार फेसबुकमा एउटा भावुक स्ट्याटस लेखिन । समर्थकसँग उपचारमा सहयोग गरिदिन याचना गरिन । आफू थाके पनि नहारेको र फेरि पुरानै जोश र उर्जाका साथ देशको लागि मैदानमा प्रस्तुत हुने प्रतिबद्धता जनाइन ।
सावित्राको यो स्ट्याटसले धेरैलाई भावुक बनायो । खेलाडी, पूर्व खेलाडी, फुटबलका सरोकारवाला, अन्य खेलका खेलकर्मी, राजनीतिज्ञ, कलाकार, अभियन्ताहरु सबैको मन छोयो । सामाजिक सञ्जाल एकाएक सावित्रामय बन्यो । विश्वभरबाट उनको उपचारको सहयोगार्थ १८ हजार अमेरिकी डलरभन्दा बढि रकम उठिसक्यो । एन्फाले पनि सावित्राको उपचार प्रवन्ध मिलाउन लागिपरेको भनेर स्पष्टिकरण पत्र सार्वजनिक गर्यो ।
यसबीचमा घरेलु फुटबलमा एपिएफबाट खेल्ने सावित्राकी सहकर्मी तथा व्यावसायिक प्रतिद्धन्द्धी रेखाले पनि फेसबुकमा एउटा भावुक स्ट्याटस पोष्ट्याइन । उनले सावित्रालाई ‘एउटा सामान्य खेलाडीभन्दा पनि लडेर अगाडि बढ्ने योद्धा’का रुपमा बयान गरिन । ‘नेपाललाई मुटुभित्र राखेर विदेशी भूमिमा पनि देशको झण्डा बोकेर खेल्ने नेपालकी छोरीलाई देशले साथ दिनुपर्ने समय आएको’ भन्दै सहयोगका लागि सबैसँग अपिल गरिन ।
रेखाले सावित्रासँग ऐक्यबद्धता जनाउन लेखेको स्ट्याटसमा भनेकी छिन्, ‘चोट खेलको हिस्सा हो, तर हार मान्नु हाम्रो संस्कार होइन । तपाई फेरि उठ्नुहुनेछ । यो उपचार र यो संघर्ष तपाईंको कमब्याकको कथा बन्नेछ । हामी सम्पूर्ण टिम, सम्पूर्ण नेपाली फुटबल परिवार र संशारभरिका नेपालीहरु तपाईंको साथमा छौं ।’
सावित्राको उपचार अभियानलाई केवल एक खेलाडीको उपचार नभई नेपालको गर्वलाई फेरि मैदान फर्काउने अभियानका रुपमा व्याख्या गर्दै उनले अगाडि लेखेकी छिन्, ‘तपाई थाक्न सक्नुहुन्छ, हार्नहुँदैन । हामी छौं, सारा नेपाली तपाईंको साथमा छौं ।’
साम्बालाई समर्पित गर्दै रेखाले लेखेको स्ट्याटस जस्ताकोतस्तैः
हामीले सँगै मैदानमा पसिना बगाएका छौं, हारपछि सँगै रोएका छौं र जितपछि सँगै खुसी साटेका छौं ।
आज तपाईं यो कठिन मोडमा उभिँदा, मन भारी हुन्छ । तर म जान्दछु तपाईं सामान्य खेलाडी होइन, तपाईं लडेर अगाडि बढ्ने योद्धा हुनुहुन्छ ।
हामीले देशको झण्डा बोकेर खेलेका छौं । विदेशी भूमिमा उभिँदा पनि हाम्रो मुटुमा नेपाल थियो । आज त्यही नेपालले आफ्नी छोरीको साथ दिनुपर्ने समय आएको छ ।
चोट खेलको हिस्सा हो, तर हार मान्नु हाम्रो संस्कार होइन । तपाईं फेरि उठ्नुहुनेछ । यो उपचार र यो संघर्ष तपाईंको कमब्याकको कथा बन्नेछ ।
हामी सम्पूर्ण टिम, सम्पूर्ण नेपाली फुटबल परिवार, र संसारभरिका नेपालीहरू तपाईंको साथमा छौं ।
सहयोग गरौं । साथ दिऔँ । प्रार्थना गरौं। किनभने यो केवल एक खेलाडीको उपचार होइन । यो नेपालको गर्वलाई फेरि मैदानमा फर्काउने अभियान हो ।
तपाईं थाक्न सक्नुहुन्छ, तर हार्नु हुँदैन । हामी छौं । सारा नेपाली तपाईंको साथमा छौं ।
