काठमाडौं । अखिल नेपाल फुटबल खेलाडी संघले राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान सावित्रा भण्डारीले सोमबार सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेको उपचारसम्बन्धी अभिव्यक्तिप्रति प्रतिक्रिया जनाएको छ ।
सोमबार सावित्राको अभिव्यक्ति आएको केही घण्टापछि खेलाडी संघका अध्यक्ष विक्रम लामा र पूर्व कप्तान विराज महर्जनले स्ट्याटसमार्फतनै प्रतिक्रिया दिएका हुन् ।
लामा र महर्जनले एन्फा नेतृत्वप्रति असन्तुष्टि व्यक्त गर्दै प्रश्न उठाएका छन् । उनीहरुले चुनवाका बेला ‘खेलाडी हाम्रो सम्पत्ति हुन्’ भन्ने नारा लगाउने पदाधिकारीहरु आज खेलाडी पीडामा हुँदा मौन बसेको आरोप लगाएका छन् ।
त्यस्तै उनीहरुले खेलाडीका लागि घोषणा गरिएको पाँच लाख रुपैयाँ सहयोगलाई ‘अपमानजनक’ भन्दै यसले संघको संवदेनहीनता उजागर गरेको टिप्पणी गरेका छन् ।
लामा र महर्जनले एन्फाको खर्च प्रणालीमाथि प्रश्न उठाउँदै विदेश भ्रमण, मुद्धा मामिला र अन्य शीर्षकमा ठूलो रकम खर्च गर्न सक्ने एन्फा खेलाडीको उपचारमा किन पछि हट्यो भन्ने प्रश्न गरेका छन् । उनीहरुले खेलाडी अक्षयकोषको अवस्थाबारे पनि स्पष्टता माग गरेका छन् ।
स्ट्याटसको अन्त्यमा उनीहरुले सावित्राको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै ‘तिमी एक्लो छैनौं, हामी तिम्रो साथमा छौं’ भन्दै ऐक्यबद्धता जनाएका छन् ।
सोमबार दिउँसो साढे तीन बजे सावित्राले एसिएलको शल्यक्रियाका लागि भावुक स्ट्याटस लेख्दै आर्थिक सहयोगको अपिल गरेकी थिइन् ।
घुँडाको शल्यक्रियाका लागि करिब ८० हजार अमेरिकी डलर (नेपाली १ करोड १५ लाख हाराहारी) चाहिने भएकाले गोलमसिन सावित्राले सामाजिक सञ्जालमार्फत समर्थकसँग सहयोगको अपिल गरेकी हुन् ।
एक महिनाअघि अस्ट्रेलियन ‘ए’ लिगमा वेलिङ्टन फिनिक्सबाट खेलिरहेकी सावित्रालाई घुँडाको गम्भीर चोट लागेको थियो । ब्रिसबन रोअरविरुद्धको खेलमा उनी घाइते भएकी थिइन् । रिपोर्टमा घुँडको एसिएल ग्राफ्ट च्यातिएको देखिएको थियो । योसँगै उनी कम्तिामा पनि ९ महिना मैदान बाहिर रहने बताइएको छ ।
त्यस्तै राष्ट्रिय टोलीका सिनियर खेलाडी रोहित चन्दले जय नेपाली फुटबल लेख्दै सावित्राको स्ट्याटस सेयर गरेका छन् । यसैगरी कतारमा व्यावसायिक फुटबल खेलिरहेका यु-२० टिमका पूर्व खेलाडी स्यान्सु भुषाल तथा नेपाली फुटबलका सयौं सरोकारवालाले पनि सावित्राको स्ट्याटस सेयर गर्दै ऐक्यबद्धता जनाएका छन् ।
