काठमाडौं । चीनको युनान प्रान्तीय युवा टोलीविरुद्धको मैत्रीपूर्ण खेलका लागि नेपाली राष्ट्रिय यु-२० महिला टोलीको प्रारम्भिक टोली घोषणा भएको छ ।
आइतबार मुख्य प्रशिक्षक यमप्रसाद गुरुङले गत वर्षको अगस्टमा सम्पन्न एएफसी यु-२० एसियन कप छनोट खेलेका १९ खेलाडीलाई समेट्दै ३० सदस्यीय प्रारम्भिक टोली तयार पारेका हुन् ।
यसबाहेक टोलीमा यही शनिबारबाट पोखरामा हुने साफ यु-१९ च्याम्पियनसिपका लागि अन्तिम टोलीमा अटाउन नसकेका चार खेलाडी पनि समावेश गरिएको छ ।
एन्फाले आइतबारनै गुरुङलाई मुख्य प्रशिक्षकको जिम्मेवारी दिएको हो । त्यस्तै एन्फाले सहायक प्रशिक्षकमा सन्देश कुमार श्रेष्ठ, गोलकिपर प्रशिक्षकमा सञ्जीव जोशी र टिम व्यवस्थापकमा दीपा क्षेत्रीलाई नियुक्त गरेको छ ।

मैत्रीपूर्ण खेल एन्फा, ‘स्कुल अफ फिजिकल एजुकेशन अफ युनान युनिभर्सिटी’ र नेपाल ओभरसीज चाइनिज एसोसिएसनको संयुक्त आयोजनामा हुन लागेको हो ।
पछिल्ला वर्षहरुमा यु-२३ पुरुष टोलीहरुबीच मैत्रीपूर्ण खेल भएका थिए । यसपाली रंगशालामा महिला फुटबलको रौनक हुनेछ ।
गत वर्षको अगस्टमा गुरुङले एएफसी यु-२० एसियन कप छनोटमा राष्ट्रिय महिला टोलीको टचलाइन सम्हालेका थिए । पाँच महिनापछि उनलाई फेरि जिम्मेवारी दिइएको हो ।
एएफसीअघि उनले जुलाईमा ढाकामा भएको साफ यु-२० च्याम्पियनसिपमा पनि टोलीलाई लिड गरेका थिए । त्यसअघि पनि उनी कयौंपटक युवा महिला टोलीको जिम्मेवारीमा रहँदै आएका थिए ।
मैत्रीपूर्ण खेल यही जनवरी ३१ शनिबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुनेछ ।

